मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुझाव राख्न नपाएको चितवनका कैदीबन्दीको गुनासो

सुझाव राख्न नपाएको चितवनका कैदीबन्दीको गुनासो


चितवन । संविधानको मस्यौदामाथि देशभर सुझाव सङ्कलन भइरहँदा आफूहरूले सुझाव दिन नपाएको भन्दै जिल्ला कारागार भरतपुरका कैदीबन्दीले दुखेसो पोखेका छन् । 
 
आफ्ना मागपत्र तयार गरेर बसेका कैदीबन्दीले दुई दिनसम्म जिल्लाका १० ठाउँमा सुझाव सङ्कलन गरिएको भए पनि आफूहरूकोमा कुनै पनि सभासद् नआउँदा दुःख लागेको जनाएका छन् । 
 
बन्दी घनश्याम पौडेलले आफूहरूले देशमा नयाँ संविधान बन्ने हुँदा पुराना कानुनअनुसार कैदीबन्दी जीवन बिताइरहेकालाई आममाफी दिने व्यवस्था संविधानमा हुनुपर्ने माग रहेको बताउनुभयो । 
 
कारागारका चौकीदार राजेन्द्र चौधरीले कैदीबन्दीले संविधानमा समावेश गर्नका लागि तयार पारेको मागपत्रमा कैदीबन्दीका परिवारलाई राहत प्याकेज हुनुपर्ने, कारागार सुधार हुनुपर्ने, महँगीअनुसार सिदा रकम बढ्नु पर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी हुनुपर्ने, खुला कारागार बन्नुपर्ने, मानवअधिकारको सुनिश्चितता हुनुपर्ने, जस्तोसुकै मुद्दा भए पनि जमानतमा बाहिर रहेर लड्न पाउनु पर्नेलगायतका माग रहेको बताउनुभयो । 
 
कैदीबन्दीले सभासद्हरूलाई आफ्ना सुझाव लिइदिन खबर पठाएको भए पनि कोही पनि नआएपछि चिन्तित बनेको कारागारका रामबाबु श्रेष्ठले बताउनुभयो । चितवन जिल्लामा सुझाव सङ्कलनका लागि १३ जना सभासद् जिल्ला आउनुभएको छ । जिल्ला कारागार भरतपुरमा ५७१ जना कैदीबन्दी रहेका छन् जसमध्ये ४९ जना महिला रहेका छन् । रासस