मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भूकम्पपीडितलाई नासाको राहत

भूकम्पपीडितलाई नासाको राहत


हिमालय खबर I नर्थ क्यारोलिना । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका एकमात्र बृहद र साझा संगठन नेप्लिज एसोसियशन अफ साउथ इष्ट अमेरिका (नासा) ले भूकम्पपीडितका लागि संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा हालै सम्पन्न कार्यक्रममा नासाले अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीमार्फत रकम प्रधानमन्त्री
 राहत कोषमा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नासाका अध्यक्ष डा.रामचन्द्र बरालले १४ हजार डलरको चेक राजदूत कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । नासाले भूकम्पपीडितका लागि कूल २६ हजार दुई सय ६२ डलर संकलन गरेको थियो । त्यसमध्ये सात हजार डलर यसअघि राजदुतावासमै पुगेर हस्तान्तरण गरिएको र बाँकी रकम भूकम्पपीडित क्षेत्रमै वितरण गरिएको नासाका अध्यक्ष बरालले जानकारी दिनुभयो । कार्यक्रममा राजदूत
 कार्कीले भावी पुस्ताले नेपालमा अब यस्ता दैवी प्रकोपको सामना गर्नु नपरोस् भन्ने कामना गर्दै अहिलेको यो भूकम्प नेपाल पुनर्निर्माणका लागि अवसर र चुनौती दुबै भएको बताउनुभयो । उहाँले नेपाल पुनर्निर्माणका लागि राजनीतिक पूर्वाग्रह नराखी एकजुट हुन सबैलाई आग्रह पनि गर्नुभयो ।
तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा नासाका अध्यक्ष बरालले राजदूत कार्कीलाई संस्थाको सम्मानित आजीवन सदस्यता प्रदान गर्नुभएको थियो । अध्यक्ष बरालले राजदूत कार्कीलाई आफ्नो कार्यकालमा सकेसम्म नेपालीहरूको हीतमा काम गर्न आग्रह पनि गर्नुभयो । प्रथम चरणको उक्त कार्यक्रममा संस्थाले हालसम्म दुई सय १५ जनालाई आजीवन सदस्यता वितरण गरिसकेको र केही समयभित्रै तीन सय
 पुर्याउने लक्ष्य रहेको जानकारी पनि दिइएको थियो । कार्यक्रममा उपस्थित नव आजीवन सदस्यहरूलाई राजदूत कार्कीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नासा–एन्मा संयुक्त सम्मेलन –२०१५ मूल समारोह समितिका संयोजक माधव ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्पोर्टस् एण्ड कल्चर इन्टरनेशनल, यूएसए का अध्यक्ष सीता पाण्डेले आफ्नो संस्था नेपाली भाषा, खेलकुद र संस्कृतिको विकास र प्रवद्र्धनमा क्रियाशिल रहेको बताउनुभयो । उहाँले आफ्नो संस्थाले नेपाली विध्यार्थीका लागि छिट्टै नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्न
 लागेको जानकारी दिँदै सबैको सहयोग र सदभावको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा नासा–एन्मा संयुक्त सम्मेलन –२०१५ को आयोजक हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको संस्था टीएनसीसीका अध्यक्ष नारायण खड्काले आउँदो सेप्टेम्बर ५, ६ र ७ मा हुने नासा–एन्मा संयुक्त सम्मेलन सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।
नासा–एन्माका महासचिव प्रसिम पौडेलले स्वागत मन्तब्य र नासाका सहसचिव अम्बिका लोहनीले सञ्चालन गर्नुभएको प्रथम चरणको उक्त कार्यक्रममा नेपाल–अमेरिका चेम्बर अफ कमर्शका बरिष्ठ उपसभापति सानुबाबु सिलवाल, नेपाल–अमेरिका पत्रकार संघका उपाध्यक्ष शिव बिष्टलगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
नासा–एन्माले विगत लामो समयदेखि हरेक वर्ष गर्दै आएको सम्मेलन यस पटक नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो सिटीस्थित होटल एम्बेसी स्विटमा हुने भएको छ ।
 
संविधानको मस्यौदामाथि छलफल
अमेरिकामा रहेका नेपाली विज्ञहरूले नेपाल पुनर्निर्माणका लागि विदेशिएका दक्ष नेपालीहरूलाई स्वदेश फर्किन आकर्षक नीति तय गर्न सुझाव दिएका छन् । उनीहरूले अध्ययनका लागि विदेश गएका युवाशक्तिलाई अध्ययन सकेर स्वदेशमै फर्किन सक्ने गरी रोजगारीको अवस्था सिर्जना गर्न पनि सुझाव दिएका छन् ।
अमेरिकाको नर्थ क्यारोलिनामा ‘नेपालको संविधान–२०७२’ को मस्यौदामाथि भएको छलफल कार्यक्रममा विज्ञहरूले संघीयताभन्दा पनि सबै वर्ग, जात, धर्म र पीडितलाई न्याय हुने गरी संविधान जारी गर्न पनि सुझाव दिए । ९४ प्रतिसत जनताको धार्मिक पहिचानलाई कायम गर्नुपर्ने उहाँहरूको सुझाव थियो । छलफलमा सहभागी बक्ताहरूले जनताले प्रत्यक्ष राष्ट्रपति चुन्न पाउनुपर्ने ब्यवस्था गर्न
 पनि सुझाव दिएका थिए । उनीहरूले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकारको अधिकार प्रदान गर्न पनि आग्रह गरेका थिए ।
करिव आठ वर्षको गृहकार्यपछि जारी हुन लागेको नेपालको संविधान–२०७२ को मस्यौदामाथि सुझाव संकलन कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा यसका सवल र कमजोर पक्षबारे छलफल गरिएको थियो । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका संगठन नासा र एन्माको पहलमा नर्थ क्यारोलिनाको हाइप्वाइन्टमा भएको कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन
 कार्कीले अमेरिकाका अन्य विभिन्न सहरहरूमा पनि यसैगरी सुझाव संकलन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल–अमेरिका चेम्बर अफ कमर्शका बरिष्ठ उपसभापतिसमेत रहनुभएका पत्रकार तथा ब्यवसायी सानुबाबु सिलवालले विदेशमा रहेका नेपालीहरूको सीप, क्षमता, श्रोत, साधन, लगानी, सफलता र प्रविधिलाई नेपालसम्म पु¥याई मातृभूमिको दीगो विकासमा महत्वपूर्ण पहल गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउनुभयो । सिलवालले अमेरिकालगायत विकसित प्रजातान्त्रिक मुलुकहरूमा भएका सफल
 प्रयोग, सुशासनका सकारात्मक पक्षहरू, शैक्षिक, प्राविधिक, लगानी र अन्य सामाजिक तथा आर्थिक पक्षहरूबाट सिकेर नेपालमा पनि अवलम्बन गर्न सुझाव दिनुभयो । उहाँले विदेशमा अमेरिकामा बढ्दै गइरहेको नेपालीहरूको लगानीको सकारात्मक प्रभावलाई नेपालको आर्थिक सम्मुनतिसम्म जोड्न सबैको उत्तरदायित्व र प्रतिवद्धताको खाँचो पनि औंल्याउनुभयो ।
नेपाल सरकारले मस्यौदामाथि सुझाव संकलन गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेअनुरूप पहिलो पटक अमेरिकाको नर्थ क्यारोलिनामा मस्यौदामाथि सुझाव संकलन गरिएको हो । सम्भवतः मस्यौदामाथि विदेशमा गरिएको सुझाव संकलन कार्यक्रम यो नै पहिलो हो ।
 
प्रधानमन्त्री कोषमा टीएनसीसीको राहत
 अमेरिकाको नर्थ क्यारोलिना राज्यको हाइ प्वाइन्ट र ग्रिन्सबोरो क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको संगठन ट्रायड नेप्लिज कम्युनिटी सेन्टर–टीएनसीसीले नेपालका भूकम्पपीडितका लागि संकलन गरेको रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।
टीएनसीसीले हालै सम्पन्न कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीमार्फत प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा टीएनसीसी अध्यक्ष नारायण खड्काले राजदूत डा.कार्कीलाई ७ हजार डलरको चेक हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष खड्काले नेपाली समुदाय सानो संख्यामा रहे पनि सबैको सहयोगबाट १६ हजार नौ सय ८२ डलर संकलन भएको जानकारी
 गराउँदै बाँकी रकम भने रेडक्रस र अन्य संस्थामार्फत पीडितसमक्ष पुर्याइएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डा.कार्कीले नेपालीमाथि आई परेको प्राकृतिक विपत्तिमा सहयोग पुर्याउने सबैमा नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्नुभयो । राजदूत कार्कीले अमेरिकामा रहेका भियतनामी समुदायले नेपालका भूकम्पपीडितका लागि एक दिनमै पाँच लाख डलर संकलन गरी चार लाख डलर बुझाएको जानकारी दिँदै यस्तो विपत्तिमा भियतनामी जनताले देखाएको एकता र सहयोगको प्रसंसा
 गर्नुभयो । उहाँले नेपाल पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै एकजुट हुन सबैलाई आग्रह पनि गर्नुभयो ।
संस्थाका बोर्ड सदस्य दीपक रानाभाटले सञ्चालन र सहसचिव समीर गुरागाईंले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको उक्त कार्यक्रममा नासाका अध्यक्ष डा.रामचन्द्र बराल, नासा–एन्मा संयुक्त सम्मेलन–२०१५ मूल समारोह समितिका संयोजक माधव ढकाललगायतले आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा ब्यवसायी तथा पत्रकार सानुबाबु सिलवाल, शिव बिष्ट तथा साहित्यकार सीता
 पाण्डेलगायतको उपस्थिति रहेको थियो ।