मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

होटल तथा लजमा आचारसंहिता पालना गर्न आग्रह

होटल तथा लजमा आचारसंहिता पालना गर्न आग्रह


चितवन । चितवनका केही व्यवसायीबाट चितवनमा होटल तथा लज आचारसंहिता–२०७२ उलंघन हुँदा एक महिनामा पाँच वटा आपराधिक क्रियाकलाप भएका छन् । आपराधिक क्रियाकलाप बढ्न थालेपछि प्रहरी प्रशासनले होटल तथा लज व्यवसायीलाई पटकपटक सचेत गराएको थियो । 
‘आचारसंहितामा उल्लेख भएअनुसार लजमा बस्ने हरेक पाहुनाको परिचय खुल्ने विवरण राख्नु अनिवार्य छ’ चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले भने, ‘यही नियम पालना नहुँदा हामीले होटल तथा लज सञ्चालकलाई कारबाही गर्न बाध्य भएका छौं ।’ 
केही महिनाअघि नारायणगढ भरतपुर क्षेत्रमा भएको होटल तथा लज छापा घटनाले चितवनको गरिमामा नै ठेस लागेको भन्दै सरोकारवाला पक्षहरु नयाँ संहिता बनाउन एक भएका थिए ।  
चितवनमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारीको स्वागत एवम् अन्तक्र्रिया कार्यक्रममा एसपी थापाले भने, ‘बढी आपराधिक घटनाका योजनाहरु होटल र लजमा हुने गरेका छन्, त्यसैले देशको शान्ति सुरक्षालाई चुनौती दिने अपराधिक घटना हुन नदिन सबै ग्राहकको परिचय राख्नु अनिवार्य छ ।’ 
साथै उनले पुलिस प्रशासनका कुनै कर्मचारीले अनाहकमा होटल व्यवसायीलाई धम्काउने, सित्तैमा खाएर हिड्ने, रकम असुल्ने गरेमा गोप्य रुपमा सूचना दिए आवश्यक कारबाही गर्न तयार रहेको समेत बताए । सोमबार बेलुकी नारायणगढमा भएको कार्यक्रममा प्रहरीले सुराकी वा शंका लागेमा छापा मार्ने भन्दै उनले यस्ता घटनामा सहयोग गर्न पनि आग्रह गरे ।  
स्वागत कार्यक्रममा व्यवसायीहरुको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले होटल तथा लज व्यवसाय निकै नै सेवामुखी भएकाले यसको संवेदनशिलता मनन गरी व्यवसायी आफँैले गर्न हुने र नहुने काम वर्गीकरण गर्न जरूरी रहेको बताए । समाजमा बढ्दो विकृति अन्त्यका लागि आचारसंहिता कोशेढुङ्गा हुने विश्वास उनको थियो । 
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले समयसमयमा प्रहरी र व्यवसायीको सम्बन्धमा खराबी आउँदा व्यवसायीले प्रहरीबाट दुःख पाउनु परेको बताए । 
कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सल्लाहकार राजेन्द्र पियाले आचारसंहिताले व्यवसायलाई थप अनुशासित र मर्यादित बनाउने भन्दै यसतर्फ ध्यान दिए सबै व्यवसायीलाई फाइदा हुने बताए । होटल ग्राण्ड भ्यु का सञ्चालक एवम् उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले होटल तथा लजमा सीसीटीभी जडान गरी थप व्यवस्थित गर्न सकिने सुझाव दिए । 
अन्तक्र्रिया कार्यक्रममा होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष इमान्दु बरालले प्रहरी प्रशासनका कर्मचारीको ज्यादतीले व्यवसायीलाई त्रसित पार्ने गरेको भन्दै यसतर्फ ध्यान दिन एसपी थापाको ध्यानाकर्षण गराएका थिए । ‘व्यवसायी हौं, जे पनि गर्न पाउनुपर्छ भन्ने हाम्रो माग होइन, बरालले भने,‘तर नियम कानुनअनुसार नै राम्रो काम हुँदाहुँदै पनि रिस र बदलाको भावले प्रहरीले अनुचित व्यवहार गर्ने गरेको छ ।’  
सोही अवसरमा शान्ति सुरक्षामा सहयोग होस् भन्दै संघका सदस्यहरुको अगुवाइमा वडा प्रहरी कार्यालय नारायणगढलाई तीन वटा साइकलसमेत हस्तान्तरण गरिएको थियो । साइकल उपलब्ध भएपछि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाले भने,‘साइकलले रात्रि तथा दिवा समयमा सुरक्षा गस्ती गर्न थप मद्धत हुने विश्वास लिएको छु ।’ 
कार्यक्रमका सभापति चितवन होटल व्यवसायी संघका अध्यक्ष डासिराम ढकालले आचारसंहिताभन्दा बाहिर गएर काम गर्ने व्यवसायीको पक्षमा संघ नलाग्ने भन्दै आजै बाट पूर्ण रुपमा आचारसंहिता पालना गर्न सबै व्यवसायीलाई निर्देशन दिए ।