मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय नागरिकलाई उन्नाइस वर्षको कैद सजाय

भारतीय नागरिकलाई उन्नाइस वर्षको कैद सजाय


तौलिहवा (कपिलवस्तु) । कपिलवस्तु जिल्ला अदालतले एक महिलालाई अपहरण गरी बेचबिखन गरेको अभियोगमा एक भारतीय नागरिकलाई १९ वर्षको कैद सजाय र रु एक लाख जरिवानाको फैसला सुनाएको छ । 
 
यसरी सो सजाय पाउने व्यक्ति भारतको उत्तराखण्ड रतनपुर वनवासाका ४२ वर्षे असरफअली मुसलमान हुन् । उनलाई बागलुङकी एक विवाहित महिलालाई अपहरण गरी बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार ऐन र अपहरणको मुद्दामा अदालतले उक्त फैसला सुनाएको हो । त्यस्तै, अदालतले पीडित महिलालाई रु ५० हजार क्षतिपूर्ति दिन पनि अभियुक्त मुसलमानलाई आदेश दिएको छ । 
 
जिल्ला न्यायाधीश किरणकुमार पोख्रेलको एकल इजलासले मुसलमानमाथि लगाइएको अभियोगलाई सही ठह¥याउँदै सो सजाय तोकिएको अदालतका स्रेस्तेदार ईश्वरी भण्डारीले बताउनुभयो । 
 
मुसलमानलाई दुई छुट्टाछुट्टै अभियोग लगाइएको छ । उनलाई मानव बेचबिखनमा १२ वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तथा अपहरणमा सात वर्ष कैद र रु ५० हजार जरिवाना गरी जम्मा १९ वर्ष जेल सजाय र रु एक लाख जरिवाना तोकिएको छ । 
 
कुखुराका चल्ला व्यापारी मुसलमानले ती महिलालाई भारतमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी गत पुस १७ गते बागलुङबाट बुटवल ल्याएका थिए । चल्ला बिक्री गर्ने क्रममा बागलुङ गएका ती मुसलमान र महिलाबीच परिचय भएको थियो । श्रीमान्ले रक्सी सेवन गरी पीडित बनेकी ती महिला आफ्नो सन्तानको सुखका लागि विदेश जान तयार भएकी थिइन । 
 
यता पीडित महिलाले आफूलाई बुटवलमा मुसलमानसहित अन्य तीनजना व्यक्तिले तीन दिनसम्म पटक पटक जबर्जस्ती करणी गरेको पीडित महिलाको बकपत्रमा उल्लेख गरिएको छ । 
 
मुसलमानले १२ दिनसम्म बुटवलमा बन्धक बनाएर राखिएकी ती महिलालाई पुस २७ गते खानामा नसाको औषधि खुवाएर अर्धचेत बनाई महेन्द्रनगर पु¥याएका थिए । त्यहाँबाट गत माघ १० गते घोडामा चढाएर भारत लैजाने क्रममा भारतको रिड्स नामक संस्थाका कर्मचारीले ती महिलाको उद्धार गरी शान्ति पुनःस्थापना गृह नामक संस्थाको जिम्मा लगाएका थिए । ती महिलाको जाहेरीका आधारमा मुसलमानलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । 
 
यसैबीच १३ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तु जिल्ला अदालतले बुढ्ढी गाविस– ३ का टुकमान गिरीलाई आठ वर्ष जेल सजाय गरेको फैसला सुनाएको छ । 
अदालतले पीडकबाट रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । रासस