मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यसरी पनि सम्झिइए भानुभक्त…

यसरी पनि सम्झिइए भानुभक्त…


काठमाडौँ । “भानु फर्की आऊ आफ्नो देश हेर्न
    खिया पर्दै गएको यो भाषा साहित्य फेर्न
तिमीले नै बनाएथ्यौ सबै ढलिसके
  भाषा अनि साहित्यका पाना गलिसके
कविताका छन्द, लयभाव मरिसके ।”
 
प्रस्तुत कविताका हरफ काठमाडौँको भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजमा आदिकवि भानुभक्तको २०२आँै जन्मजयन्तीका अवसरमा आयोजित कविगोष्ठीमा छात्रा जेनिसा कार्कीले पाठ गर्नुभएको कविताको एक अंश हो ।
 
सो अवसरमा कवि रामेश्वर मातृदास, देवी नेपाल, लक्ष्मण गाम्नागे, ठाकुर शर्मा, इन्दु अंशुलगायतले नेपाली भाषा र आदिकविसँग जोडिएका कविता र रामायणको श्लोक वाचन गर्नुभएको थियो ।
 
कलेजका छात्रा अनिता आचार्यले सादासिदा र इमान्दारलाई ‘पाखे’ भन्ने प्रवृत्ति, अनियमितता, भ्रष्टाचार अनि देश र जनताका विरुद्धमा काम गर्ने व्यक्तिलाई नेता र मन्त्री भनी सम्बोधन गरिने भावसहितको व्यङ्ग्यात्मक कविता वाचन गर्दा सहभागीले ताली बजाएर स्वागत गर्नुभएको थियो । समारोहमा साहित्यकार मन्जुश्री प्रधानलाई कलेजका तर्फबाट सम्मान प्रदान गरिएको थियो ।
 
सो अवसरमा सहभागी कविहरूले नेपालमा भानुभक्तलाई ‘बाहुन’ भनेर उहाँको योगदानलाई कम आँक्ने प्रयास गरिए पनि भारतलगायत नेपाली भाषी रहेका अन्य मुलुकमा भानुभक्तले नेपाली भाषामा दिएको योगदानको स्मरण नगरी बाँच्न सक्दैनौँ भन्ने गरेको तथ्यसहितको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले शासन, प्रशासन जताततै हैकमवाद चलिरहेको बेलामा भानुभक्तले सरल नेपाली भाषामा रामायणको उल्था गरेर कुनै शासकले पनि एक गर्न नसकेको अवस्थामा नेपाली भाषी जनतालाई एकताको सूत्रमा बाँध्न सफल हुनुभएको बताउनुभयो ।
 
अध्यात्म र आत्मचिन्तनको खोजी भानुभक्तको कवितामा देखिने गरेको बताउँदै उहाँले आदिकविको प्रभावशाली कलमले नै नेपाल राष्ट्रलाई भाषाको माध्यमबाट एकीकरण गराउन सफल भएको उल्लेख गर्नुभयो । 
 
सो अवसरमा कलेजका अध्यक्ष रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले निरन्तरताभित्र नविनताको खोजी गर्ने क्रममा भानुभक्तले आदिकविको उचाइ प्राप्त गर्न सफल हुनुभएको बताउनुभयो । रासस