मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्ड भारत प्रस्थान, अन्य नेताहरु तयारीमा

प्रचण्ड भारत प्रस्थान, अन्य नेताहरु तयारीमा


नयाँदिल्ली । भारत सरकारको औपचारिक निम्तोमा मंगलबार अपराह्न दिल्ली पुग्ने अध्यक्ष दाहाल साउन ४ गते स्वदेश फर्कने छन्। भ्रमण क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्नेछन्। सम्भवतः गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता हुने बताइएको छ।
 
यसपटक दाहालले पार्टीका कुनै पनि वरिष्ठ सदस्यलाई नलगी नितान्त पारिवारिक सदस्यलाई मात्रै भ्रमण टोलीमा पारेका छन्। पत्नी सीता, ज्वाइँ अर्जुन पाठक र सहयोगी शिव खकुरेल टोलीमा आवद्ध छन्। केन्द्रीय कार्यालयको बैठकले भ्रमण टोलीमा सहभागी गराउने व्यक्ति छान्ने अधिकार दिएपछि दाहालले चार सदस्यीय टोली बनाएका हुन्।
 
प्रमुख दलबीच पछिल्लो समय भएको १६ बुँदे सहमतिप्रति भारतले अझैसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। संयुक्त राष्ट्र संघले औपचारिक रूपमा स्वागत गरे पनि भारतले कुनै प्रतिक्रिया नदिएपछि प्रमुख दल उसको भूमिकाप्रति संशकित छन्। भ्रमणले संविधान निर्माण प्रक्रियाप्रति छिमेकी मुलुकको समर्थन र सहयोगको अपेक्षा गर्ने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
 
‘नेपालका राजनीतिक दलले गरेको निर्णयप्रति सकारात्मक सहयोगको अपेक्षा स्वाभाविक रूपमा रहने नै छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘यो मुख्यतः द्विपक्षीय उच्चस्तरीय राजनीतिक सद्भावना भ्रमण हो।’ उनका अनुसार विराटनगरस्थित ‘भारतीय फिल्ड अफिस’ र लिपुलेकसहित नेपाल–भारतबीच रहेका समस्याबारे दाहालले भारतीय अधिकारीसँग छलफल गर्नेछन्।
 
दाहालले गत मे २५ मा चीनरभारतबीच भएको द्विपक्षीय सम्झौतामा लिपुलेक नाका खुलाउने भनिए पनि सो भूमि नेपालको भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई गत असार २४ गते पत्र नै लेखेका थिए। सो पत्र लेखेको साताभित्रै उनी दिल्ली जाँदैछन्। यसलाई भ्रमणको एजेन्डा बनाएको दाहालको सचिवालयले जनाएको छ।
 
कोसी बाँध फुटेपछि नेपालमा सहयोग गर्न आएको ‘भारतीय फिल्ड अफिस’ भारतले अझै बन्द गरेको छैन। नेपाल सरकारले बन्द गर्न लिखितै रुपमै बारम्बार आग्रह गरे पनि भारतले नसुने झैँ गरिरहेको छ। सो कार्यालय विराटनगरमा ०६५ सालदेखि रहँदै आएको छ। सो विषयमा पनि छलफल हुने श्रेष्ठले जानकारी दिए।
 
यसैगरी, भूकम्पले क्षतिग्रस्त गुजरात राज्यको भुजु पुगी त्यहाँ भएका पुनर्निर्माण र नवनिर्माण कार्यको अवलोकनसहित अनुभव साटासाट गर्ने कार्यक्रम पनि भ्रमण तालिकामा परेको छ। ‘भूकम्पपछि कसरी गुजरातले विकास गर्योय भन्नेबारे अध्यक्षले जानकारी लिने कार्यक्रम छ, त्यसका लागि उहाँ भुजु सहरमा जानुहुन्छ,’ खड्काले भने, ‘त्यहाँका नेतादेखि सरकारी अधिकारीसँग भेटघाट गरेर अनुभव साटासाट गर्ने कार्यक्रम छ।’ उनका अनुसार दाहालले एसडी मुनीले आयोजना गर्ने एक कार्यक्रममा प्रवचन दिनेछन् भने शरद यादव लगायत नेतासँग पनि भेटघाट गर्ने छन्।
 
यसैबीच दाहालको सचिवालयले मंगलबारदेखि सुरु हुने भ्रमणबारे सोमबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालको यो चौथो औपचारिक भारत भ्रमण हो। दाहाल फर्केलगत्तै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि भारत जाँदै छन्।