चितवन । ३३ दलको आह्वानमा चितवनमा क्रियाशील २ दल नेकपा–माओवादी र नेकपा एकीकृतको आयोजनामा प्रस्तावित नेपालको संविधान २०७२ को मस्यौदा शनिबार नारायणगढमा जलाइएको छ ।
दुई दलका कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य सुर्यप्रकाश सुवेदी ‘पथिक’लगायत नेता कार्यकर्ताहरुले प्रस्तावित संविधान जलाएका हुन् ।
उपस्थित आन्दोलनकारीलाई नेकपा–माओवादी तथा नेकपा एकीकृतका नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा पथिकले राष्ट्रघाती संविधान निर्माणमा राज्य अग्रसर भएकाले ३३ दलको निर्णयमा राष्ट्रव्यापी रुपमा यो संविधान जलाइएको बताए । क्रान्तिकारीहरु अब अग्रगामी संविधान निर्माणमा अग्रसर हुनुपर्ने उनले बताए ।
त्यस्तै संविधान सभा बाहिर रहेको दल, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले नवलपरासीको सदरमुकाम परासीमा संविधानको मस्यौदा च्यातेको छ । संविधान सभाको निर्वाचन नै बहिस्कार गरेर राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत नयाँ संविधान जारी गर्नु पर्ने अडान लिँदै आएको नेकपा माओवादीले देशभर मस्यौदा च्यातेको हो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले चार दलहरुले फेरि पनि २०४७ सालकै संविधान व्यूँताउन लागेकोले आन्दोलनमा उत्रिनु परेको बताए ।
प्रतिक्रिया