मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक विदेशीसहित तीनस्रष्टालाई पुष्पलाल राष्ट्रिय पुरस्कार

एक विदेशीसहित तीनस्रष्टालाई पुष्पलाल राष्ट्रिय पुरस्कार


काठमाडौँ । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीन स्रष्टालाई शुक्रबार सम्मान गरिएको छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार यस वर्ष संस्कृतिविद् डा सत्यमोहन जोशी, नेकपा (एमाले) का नेत्री शान्ता चौधरी र भारतको पटना विश्वविद्यालयका प्राध्यापक डा राजेन्द्र रामलाई नगद रु एक लाखसहितको पुरस्कारबाट सम्मान गरिएको हो ।
 
उक्त पुरस्कार मन्त्रालय र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित एक समारोहबीच प्रधानमन्त्री सुशील कोइरालाले स्रष्टालाई नगद र सम्मानपत्रसहित सम्मान गर्नुभयो ।
 
सरकारले आव २०६८÷०६९ को नीति तथा कार्यक्रममा समावेश गरेबमोजिम पर्यटन मन्त्रालयले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ हरेकवर्ष तीन विधा – राजनीतिक तथा सैद्धान्तिक; इतिहास, साहित्य र संस्कृति तथा विज्ञान विषयमा खोज, अनुसन्धान र लेखनमा लागेका तीन जनालाई प्रदान गर्दै आएको छ ।
 
पुरस्कृत व्यक्तित्व सत्यमोहन जोसीलाई नेपाली भाषा र संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान पु¥याएबापत, नेत्री चौधरीलाई भूमिहीन, कमैया, कमलरीलगायतका विपन्न वर्गको उत्थानमा योगदान पु¥याएबापत र प्रा डा रामलाई पुष्पलालको विषयमा खोज अनुसन्धान गरी योगदान पु¥याएबापत नगद पुरस्कारबाट सम्मान गरिएको हो ।
 
सो अवसरमा नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका क्रममा फरक मत लिएर हिँडेका दलहरूलाई सहमतिमा ल्याउन आफूले कुराकानी गरिरहेको जानकारी दिँदै अब फेरि मुलुकले कुनै पनि प्रकारको द्वन्द्व र अन्योलता थेग्न नसक्ने भएकाले शान्ति, स्थायित्व र लोकतन्त्र संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
 
“अहिले शान्ति, स्थायित्व र लोकतन्त्र संस्थागत गरेर विकासमा जाने ठूलो सम्भावना छ, सामाजिक आर्थिक परिवर्तनका लागि एक शताब्दीदेखि लड्दै आएकोमा अहिले त्यो साकार हुने बेला आएको छ, यसमा सबै एकताबद्ध भएर जुटौँ,” – उहाँले भन्नुभयो ।
 
प्रधानमन्त्री कोइरालाले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्व पुष्पलालको सरल व्यक्तित्वबाट आफू प्रभावित भएको र पुरस्कारले उहाँको योगदानको सम्मान भएको बताउनुभयो ।
 
तत्कालीन समयमा जननायक स्व विश्वेश्वरप्रसाद कोइरालासँग नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले भेटेको र पञ्चायत विरोधी आन्दोलन छेड्न गरेको रणनीतिक कार्ययोजनाको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले उहाँहरूजस्ता युगपुरुषको योगदानको सम्मान र भावनालाई आत्मसात् गरेर अघि बढ्नसक्नुपर्ने धारणा राख्नुभयो ।
 
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बिपी कोइराला र पुष्पलालजस्ता आदर्श पुरुषको जीवनी र व्यक्तित्वबाट नयाँ पुस्ताले आफ्नो जीवनलाई बदल्न सक्नुपर्ने धारणा राख्नुभयो ।
 
फरक प्रसङ्गमा पूर्व प्रधानमन्त्री नेपालले भूकम्पपछिको पुनःनिर्माण गर्ने गरी सरकारको नीति, कार्यक्रम तथा बजेटमार्फत भौतिक संरचना निर्माण, जलविद्युत् आयोजना निर्माण, पर्यटन पुनःरुत्थान, विमानस्थल निर्माण, कृषिको व्यावसायीकरण जस्ता राष्ट्रिय गौरवका आयोजना दीर्घकालीनरुपका (अर्को सरकार आउँदा नबदलिने) हुनुपर्ने बताउनुभयो । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले नेपालको राजनीतिक क्रान्तिमा उल्लेख्य योगदान पु¥याउने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा दिइने यो पुरस्कारको राशिलाई आगामी दिनमा अझ बढोत्तरी गर्न मन्त्रालय लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
 
पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले राजनीतिक योद्धा पुष्पलालले देश तथा समाज परिवर्तनका खातिर गरेको योगदानको कदर गर्दै उहाँलाई चिरस्मरणीय बनाउने हेतुले मन्त्रालयले पुरस्कारलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो । 
 
पुरस्कृत संस्कृतिविद् डा सत्यमोहन जोशीले अहिलेसम्म थुप्रै पुस्तक आएपनि राष्ट्रिय इतिहास बोकेका पुस्तकको अभाव खड्किएको भन्दै जननायक बिपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालजस्ता राष्ट्रका सपुतहरूको जीवन सङ्घर्षमा आधारित पुस्तक प्रकाशन गरी पाठ्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिनुभयो । रासस