मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जन्मिएको सत्र वर्षपछि थर र नागरिकता

जन्मिएको सत्र वर्षपछि थर र नागरिकता


खोटाङ । जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमायाँ नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएको हो । विसं २०५५ असार २९ गते जन्मिएका दुर्गाराजको थर वंशजका आधारमा ‘भट्टराई’ कायम गरेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । 
 
सहायक महिला विकास निरीक्षक भुवन राई र बालअधिकार अधिकृत रविन राईले सनाखत गरी दिएपछि दुर्गाराजलाई प्रशासनले आइतबार नागरिकता दिएको हो । प्रेम सम्बन्धलाई २०५४ असोज ३ गते भागी विवाहमा परिणत गरेका बुबा विद्यापतिको मृत्यु भएको र उनीहरुको विवाह दर्ता प्रमाणपत्र नभएका कारण दुर्गाराजको हालसम्म थर कायम हुन सकेको थिएन । 
 
जिल्ला प्रशासनले भट्टराई थर कायम गरेर नागरिकता प्रदान गरेपछि दुर्गाराजलाई ‘भट्टराई’ मान्ने की ‘नेपाली’ मान्ने भन्ने लामो समयसम्मको अन्योल टुङ्गिएको छ । दुर्गाराजको थर कायम गर्न जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयले लामो समयसम्म कसरत गरेको थियो । छोरा जन्मिएको केही समयपछि २०६४ सालमै विद्यापतिको मृत्यु भएका कारण दुर्गाराजको थर कायम हुन नसकेको स्थानीयको भनाइ छ ।
 
कालिका निमावि दुवेकोलको कक्षा ८ मा अध्ययनरत दुर्गाराजले विद्यालयमा आफ्नो बिना थर ‘दुर्गाराज’ मात्रै लेख्दै आएका थिए । रासस