मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुन्छ : उपप्रधानमन्त्री सिंह

लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुन्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुने बताउनुभएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाडौँ विकास प्राधिकरणले नन्दीकेशर बगैँचाको व्यवस्थापन सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानको प्रारम्भिक मस्यौदा निर्माण भएर छलफल सुरु भएकाले अब छिट्टै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले प्रारम्भिक मस्यौदालाई संविधानसभामा छलफल भएकाले चाँडो जनतामाझ लैजान लागेको भन्दै सबै राजनीतिक दलले आफ्नो मुद्दालाई   लेनदेन (गिभ एन्ड टेक)  गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले काठमाडौँमा खुला ठाउँ आवश्यक रहेकाले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर अगाडि बढ्न लागेको बताउनुभयो । 
 
कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्काले संविधान निर्माणका क्रममा रहेकाले अब चाँडो जनताको चाहनाअनुसारको संविधान निर्माण हुने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा जनसङ्ख्या अत्याधिक चाप भएकाले विपत्तिको बेलामा बस्नका लागि खुला स्थानको खाँचो रहेको औँल्याउनुभयो । मन्त्री खड्काले विश्वका कुनै पनि सहरको दाँजोमा काठमाडौँ उपत्यका सबै कुरामा राम्रो भएकाले २१औँ शताब्दीको उत्कृष्ट सहर बनाउने बताउनुभयो । 
 
मुख्यसचिव लीलामणि पौड्यालले यस्ता पार्क निर्माणले विपत्तिको बेलामा ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले आफ्नै नेतृत्वमा २०६९ सालमा काठमाडौँ उपत्यकाका ८३ स्थानमा यस्ता पार्कको निर्माण गर्न स्वीकृत दिएको बताउनुभयो । 
 
सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले आर्किटेक्चर इन्जिनियर प्रवल थापाले तयार पारेको बगैँचाको प्रारुपअनुसार उक्त बगैँचा निर्माण गरेको बताउनुभयो । सो बगैँचा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका कम्पनले घरबारविहीन भएका जनतालाई सुरक्षित आश्रयस्थल बनेको थियो । रासस