मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘सुगौली सन्धि अध्ययन तथा सुझाव आयोग’ गठन गर्न माग

‘सुगौली सन्धि अध्ययन तथा सुझाव आयोग’ गठन गर्न माग


काठमाडौँ । भावी संविधानमा अधिकार सम्पन्न ‘उच्चस्तरीय सुगौली सन्धि अध्ययन तथा सुझाव आयोग’ बनाई त्यही आयोगको सिफारिसमा नेपालको वास्तविक सिमाना कायम गर्र्नुपर्ने माग राख्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ ।
 
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहितको टोलीले संविधानसभा भवन नयाँ बानेश्वरमा पुगी सुगौली सन्धिपूर्वको ग्रेटर नेपालको समर्थनमा तीन लाखभन्दा बढी जनताको हस्ताक्षरसमेत सभाध्यक्षलाई बुझाएका छन् ।
 
ज्ञापनपत्रमा बेलायतले भारत छोडेर गएपछि नेपालको सिमाना सुगौली सन्धि पूर्वको अवस्था अर्थात् टिस्टादेखि सतलज नदीसम्म कायम हुनुपर्ने भन्दै सो भूमि नेपालले फिर्ता पाउनुपर्ने माग गरिएको छ ।
 
गत जेठ १ गते भारत र चीनबीच लिपुलेकका सम्बन्धमा भएको सम्झौता सच्याउनसमेत मोर्चाले सभाध्यक्षको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले लिपुलेकको विषय गम्भीर भएको भन्दै नेपालको भूमि जोगाउने सरकारको दायित्व भएको बताउनुभएको थियो ।
 
उहाँले लिपुलेकका विषयमा सरकार र राजनीतिक दलबीच समान धारणा बनाउन आफूले भूमिका खेल्नेमा विश्वस्त हुन मोर्चाका पदाधिकारीलाई आग्रह गर्नुभएको थियो ।