मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक लाख घूस खाने नापी अधिकृत कार्यालयबाटै गायब

एक लाख घूस खाने नापी अधिकृत कार्यालयबाटै गायब


चितवन । एकलाख रूपैयाँ घूस लिएको आरोपमा अख्तियारको नियन्त्रणभित्र रहेका भरतपुरका नापी अधिकृत रामकान्त आचार्य अख्तियार कर्मचारीको आँखा छलेर गायब भएका छन् । तीन घण्टासम्म नियन्त्रणमा रहेका आचार्य गायब भएपछि अख्तियार कर्मचारीहरु रनभूलमा परेका थिए ।
 
मंगलबार दिउँसो १ बजेतिर गायब भएका उनी अबेरसम्म पत्ता नलागेपछि अख्तियार टोली निराश भएको छ । सोमबार र मंगलबार दुई दिनसम्म अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका ५ जना यसै घटनामा खटिएका थिए । एक लाख घूस लिएको प्रमाणित भएपश्चात् अधिकृत आचार्य फरार भएका हुन् । 
 
हराएको जग्गा खोज्ने सवालमा नापी अधिकृत आचार्यले भरतपुरका मोतीबहादुर बराइलीसँग १ लाख घूस मागेका थिए । रकम दिएका मोतीले भने, ‘सुरूमा त जग्गा मागेका थिए, तर पछि बार्गेनिङ हुँदै आउँदा १ लाखबाट एक रूपैयाँ पनि नघट्ने बताएपछि आफूले अख्तियारमा जानकारी गराएँ ।’
 
अख्तियार टोलीसँग समन्वय गरी मंगलबार नापी कार्यालय आएका मोतीले आचार्यलाई कार्यालय परिसरमा रहेको चमेना गृहपछाडि गएर एक लाख दिए । दिइएको रकमको फोटोकपी लिएर अख्तियार टोली वरपर बसिरहेको थियो । सुइँको पाएपछि अख्तियारको सेटिङलाई माथ दिँदै आचार्यले आफ्नो सेटिङमार्फत् घूस रकम अर्केलाई दिए ।  
 
एक लाख दिएर फर्केपछि मोतीले अख्तियार टोलीलाई रकम दिएको इसारा गरे । ‘रकम दिएको ३० सेकेन्ड पनि भएको थिएन, आचार्यले अर्कै व्यक्तिलाई दिएछन्’ अख्तियारका एक कर्मचारीले भने, सुरूमा रकम लिएको अस्वीकार गर्दै आएका आचार्यले पछि रकम दिने व्यक्ति मोतीबहादुरसँग कुरा गराएपछि रकम लिएको खुलेको हो ।’
 
रकम लिएको स्वीकार गरेपछि आचार्यलाई लिएर अख्तियार टोली उनले रकम दिएको अर्को तेस्रो व्यक्ति खोज्न हिँड्यो । जब आचार्यले दिएको लाख रूपैयाँ घूससहित तेस्रो व्यक्ति भेटिए, त्यहीँ बेला अख्तियारको आँखा छलेर आचार्य फरार भएका ह’न् ।
 
आचार्यले रकम लिएको प्रमाणीत भए पनि उनलाई समात्न अख्तियार टोली असफल भयो । यस घटनामा २ जना बिचौलिया पनि सामेल भएको अख्तियार स्रोतले बताउँछ । जसमा एक पक्राउ परेका छन् भने एक फरार छन् ।
 
पुर्जामा नभेटिएको तर फिल्ड र नक्सामा भएको जग्गाको खोजीमा रहेका मोती बराइलीले सबै व्यहोरा पूरा गरेर ल्याउँदा पनि नापी अधिकृत आचार्यले काम गरिदिन आलटाल गरेका रहेछन् । गत फागुनदेखि खैरहनी नगरपालिकामा रहेको जग्गामा ३ धूर बढी जग्गा हराएपछि बराइली दिनदिनै नापी कार्यालय धाएका थिए ।
 
अमिन र जग्गा किनेको व्यक्तिले पनि जग्गा पुर्जामा नदेखिएको तर फिल्ड र नक्सामा भएको प्रमाणित गरिदिएका थिए तर नापी अधिकृतले नमानेपछि काम अड्किएको थियो । ‘काम सम्पन्न भए खुसी मनले केही खर्च दिउँला भन्ने सोचेको थिए, उनले भने, तर एक लाखबाट नघट्ने बताएपछि अख्तियार गुहारेको हुँ ।’