मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सबैलाई सम्बोधन गर्ने संविधान ल्याऔँ : उपराष्ट्रपति झा

सबैलाई सम्बोधन गर्ने संविधान ल्याऔँ : उपराष्ट्रपति झा


नवलपरासी । उपराष्ट्रपति परमानन्द झाले सोच विचारका साथ नयाँ संविधान ल्याउन सुझाव दिएका छन् । नवलपरासीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्दै झाले भने, ‘सबैको अधिकार र मागलाई सम्बोधन गर्ने वातावरण बनाएरमात्रै संविधान ल्याउनुपर्छ । नमिलेका कुरालाई सहमतिमा लगेर पूर्ण संविधान बनाउनुपर्छ ।’ 
 
उपराष्ट्रपति झाले सबैभन्दा महत्वपूर्ण कुरा नै संविधान भएको बताउँदै सबैको भावना समेटिएको संविधान निर्माण हुन सकेमात्र संविधान जारी गरेको सार्थक हुने बताए । 
 
सबै दलमा एक दुईजना नेताहरुले किचलो झिकिरहेको सन्दर्भ अघिसार्दै उनले त्यसलाई सामान्य रुपमा हेरेर सबैको भावना समेटिएको संविधान आउनेमा आशा व्यक्त गरे । उनले संविधानसभाका सभासदहरु सबै दक्ष रहेकोमा जोड दिँदै संविधानमा मधेस, पहाड, हिमाल, तराई सबैलाई समेट्ने संविधान आउनेमा पनि विश्वास व्यक्त गरे ।
 
खुल्ला दिशामुक्त जिल्ला अभियान शुरु गरिएपछि नवलपरासीमा विभिन्न संघसंस्थालगायतको सहयोगमा एक लाख ३१ हजार आठ सय पाँच वटा चर्पी निर्माण गरिएको छ । ०६४ मा नेपालकै पहिलो खुल्ला दिसामुक्त गाविसको रुपमा साविक प्रगतिनगर गाविस घोषणा भएपछि नवलपरासीमा खुल्ला दिशामुक्त अभियान शुरु गरिएको थियो ।
 
६ वटा नगरपालिका र ५९ गाविस र ६ लाख ४३ हजार पाँच सय आठ जनसंख्या रहेको नवलपरासीमा अभियान शुरु हुनुपूर्व २५ प्रतिशतको हाराहारीमा मात्र चर्पी निर्माण भएको थियो । यसबीचमा नवलपरासीमा ५० वटा सार्वजनिक चर्पीहरु निर्माण गरिएको छ ।
नवलपरासी तराईका जिल्लाहरुमा दोस्रो जिल्लाका रुपमा खुल्ला दिशामुक्त जिल्ला भएको छ ।