मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भत्किएको विद्यालय बनाउँदै अमेरिकी स्वयम्सेवी

भत्किएको विद्यालय बनाउँदै अमेरिकी स्वयम्सेवी


काठमाडौँ । गोकर्णेश्वर नगरपालिका– ६ पाखाथोकस्थित भीमदेव प्राथमिक विद्यालयको भूकम्पबाट भत्किएको भवन निर्माणका लागि अमेरिकाबाट आएका ४५ युवा स्वयम्सेवक खटिएका छन् ।
 
रोटरी क्लब अफ काठमाडौँको सक्रियतामा निर्माण कार्य सुरु भएको भवनमा अमेरिकी युवा ढुङ्गा बोक्ने, माटो सार्नेलगायत काममा खटेका छन् । 
 
“यो देखेर सामुदायिक विद्यालय बनाउन जनसहभागिता जुटाउनुपर्ने रहेछ भन्ने हाम्रो घैँटामा घाम लागेको छ, हामी प्रवेशिका उत्तीर्ण गरेपछि ठूलो मान्छे भइयो अब केही काम गर्नुहुन्न भन्ने गलत मानसिकतामा थियौँ, सुशिक्षित र राम्रो काम गर्ने अमेरिकी स्वयम्सेवी युवाले आँखा खोलिदिए” – स्थानीयवासी श्याम तामाङले भन्नुभयो ।
 
स्वयम्सेवामा खटिएका केही युवा इन्जिनियरसमेत रहेकाले भवनको डिजाइन पनि उनीहरूले नै गरी निर्माण सुरु गरेका हुन् । 
 
विद्यालयका संरक्षक श्रीकृष्ण ज्योति छ महिनाअघि विद्यालयको दुरावस्थाका विषयमा इन्टरनेटमा राखिएको सामग्री देखेर रोटरी क्लबका युवा स्वयम्सेवक भवन बनाउन नेपाल आएको बताउनुहुन्छ ।
 
विद्यालयमा हाल विपन्न वर्गका १०० विद्यार्थी अध्ययनरत छन् । सरकारी विद्यालय भए पनि जिल्ला शिक्षा कार्यालयको ध्यान नजाँदा भवन जीर्ण अवस्थामा रहेका बेला निर्माण गर्ने सहयोगी हातको आवश्यकता भन्ने जानकारी इन्टरनेटमा राखिएको थियो । 
 
सोका आधारमा बिदाको समय पारेर स्वयम्सेवी विद्यालय भवन निर्माणका लागि नेपाल आएका हुन् । भवन निर्माणका लागि स्थानीय साधन र स्रोत जुटाइएको संरक्षक ज्योतिले जानकारी दिनुभयो । रासस