मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राहतको दुरूपयोग कसैबाट नहोस् : प्रधानमन्त्री कोइराला

राहतको दुरूपयोग कसैबाट नहोस् : प्रधानमन्त्री कोइराला


काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपाली नागरिकको नाममा नेपाली तथा विदेशी नागरिकहरूले पठाएको राहत रकम तथा सामग्रीको कसैबाट पनि दुरूपयोग नहोस् भन्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न भारतको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार आएको प्रतिनिधिमण्डलसँग सो कुरा बताउनुभएको हो ।
 
उहाँले विदेशबाट राहत रकम र सामग्री पठाउने संस्थाहरूले आफूले पठाएको रकम र सामग्री पुगे नपुगेको पनि निगरानी गर्नुपर्ने बताउँदै सिधै आफू गएर राहत वितरण गर्नुभन्दा सरकारको एकद्वार नीतिअनुरूप जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर वितरणमा जान आग्रह गर्नुभएको थियो ।
 
सम्पर्क समितिले नेपाली राजदूतावास नयाँदिल्लीमार्फत प्रधानमन्त्री दैवी राहत कोषमा रु ५ लाख ११ हजार १३१ र रु एक लाख ६० हजार प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरी सहयोग गरेको छ ।
 
नेपाली जनसम्पर्क समिति भारतले भूकम्पपीडितका लागि नगद र जिन्सी गरी करिब रु ९१ लाख ३० हजारको सहयोग गरेको जनाएको छ । 
 
समितिले नेपाल दूतावास नयाँ दिल्ली, जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, काठमाडौँ, पर्वत, ललितपुरलगायतका जिल्लामा राहत सामग्री वितरण गरिएको जनाएको छ । समितिले अर्घाखाँची र काठमाडौँ जिल्लामा लोकमणि घिमिरेको संयोजकत्वमा स्वास्थ्य शिविरहरू पनि सम्पन्न गरेको जनाएको छ ।
 
भेटका अवसरमा जनसम्पर्क समिति भारतको प्रतिनिधिमण्डलले प्रधानमन्त्री समक्ष प्रवासी नेपालीको समस्या र जनसम्पर्क समितिका आन्तरिक माग पनि राखेको थियो । 
 
प्रधानमन्त्रीसँगको भेटमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता दिलेन्द्र बडू नेपाली काँग्रेसका सचिव ऋषिकेश तिवारी र नेपाली जनसम्पर्क समिति भारतका महेन्द्र भुसाल, धर्मागत काफ्ले, विष्णुप्रसाद पाण्डे, विराट श्रेष्ठ, अनिल शर्मा, चन्द्रकान्त काफ्ले, भूपेन्द्रराज गिरी सम्मिलित हुनुहुन्थ्यो । 
 
प्रतिनिधिमण्डलले भूकम्पपीडितका लागि थप राहत सामग्री र आर्थिक सङ्कलन भइरहेको पनि जानकारी गराएको थियो ।
 
प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताहरूसँग भेटघाट गरेको जनाएको छ । रासस