मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पाकिस्तानमा गर्मीबाट मर्नेको संख्या एक हजार नाघे

पाकिस्तानमा गर्मीबाट मर्नेको संख्या एक हजार नाघे


इस्लामाबाद । पाकिस्तानी सहर कराचीमा केही दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक हजारभन्दा बढी भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ सय पुग्ने पनि सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । 
 
एएफपी समाचार समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार कराची सहरभरी यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बिहीबारसम्ममा एक हजार ७९ रहेका छन् । 
 
तर बिहीबार भने ७५ प्रतिशत बादल लागेकाले केही राहत महसुस गरिएको बताइएको छ । हिजोको तुलनामा बिहीबारको अवस्था केही सहज रहेको छ र जसका कारण आज ती अस्पतालमा त्यति धेरै बिरामी नपुगेको बताइएको छ । बिहीबारको कराचीको तापक्रम ३४ डिग्री रहेको बताइएको छ । 
 
कराचीको प्रान्तीय राजधानी नगरका कैयौँ अस्पतालमा तातो हावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको छ । त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सकहरूले जनाएका छन् । कराची सहरमा करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ । 
 
पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रूपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ । नागरिकमा तातो हावाका कारण ठूलो त्रास उत्पन्न भएकाले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने माग उनीहरूले गरेका छन् । 
 
यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् । केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी