मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपीडितका लागि धमाधम घर निर्माण

भूकम्पपीडितका लागि धमाधम घर निर्माण


चितवन । चितवनको विभिन्न क्षेत्रका भूकम्पपीडितको स्थानान्तरणका लागि धमाधम घर निर्माण सुरू भएको छ । काउले– ९ गोछिवाङका २४ घरपरिवारलाई चितवनको शक्तिखोर र जुटपानी सिमानामा पर्ने स्कुलको चौरमा राख्ने निर्णय भएसँगै धर निर्माणले तीव्रता पाएको हो ।
 
गाउँले आफैँ घर निर्माणमा सक्रिय भएको भूकम्पपीडित बलबहादुर विकले बताए । ढिलै भए पनि काम सुरू भएकामा आफूहरूलाई खुसी भएको अर्का भूकम्पपीडित मतिराम विकले बताए । शक्तिखोरको कालिका मन्दिरसँगै रहेको खुला जमिनमा राख्ने यसअघिको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा विवाद भएपछि ढिला गरी स्थान तय गरिएको थियो । पूर्व लडाकु क्याम्पभित्र राख्ने स्थानीय वन समितिको आग्रहमा चितवनका राजनीतिक दल सहमत नभएपछि समय लम्बिएको थियो । 
 
करिब एक महिना ढिला गरी पीडितका लागि घर निर्माण थालिएको छ । जुटपानी चौरमा भूकम्पपीडित आफ्नो घर आफैँ बनाउँदै छन् । उनीहरूले परिश्रमअनुसारको ज्याला पाउने छन् । विकट काउलेको गोछिवाङको जमिन नै फाटेकाले स्थानान्तरणको निर्णय गरिएको चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए । ‘तल पनि भिर छ माथि पनि भिर छ, अनि जमिन फाटेको छ’ उनले भने,‘हामीले अनुगमन गरेपछि विपद् समितिले सार्ने निर्णय लिएको हो ।’
 
यसअघि चितवनको बिटक लोथरको यसीकाईका दुई दर्जन बढी घरधुरीका भूकम्पपीडितलाई सोही गाविसको यौरालीटारमा राख्ने निर्णय भइसकेको छ । सो क्षेत्रमा पनि घर निर्माणको प्रक्रिया सुरू भइसकेको छ । चितवनको पहाडी इलाकामा पहाड नै चिरिएकाले जोखिम क्षेत्रका दुई गाउँलाई सार्न लागिएको हो । जिल्लामा अहिलेसम्म १० जनाको भूकम्पका कारण ज्यान गएको छ भने २३ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।