चितवन । अवैध पेस्तोल बोकी गोली चलाएको आरोपमा लंकू यज्ञपुरीबाट पक्राउ परेका प्रगतिनगर गाविस–९ का ३० वर्षीय मणिप्रसाद काफ्ले र उनकी दिदी नैनीदेवी रिजाललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।
हातहतियार तथा खरखजना मुद्दा चलाइएका उनीहरु माथि यस्तो आदेश सुनाइएको हो । यी दुई अभियुक्तमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा पनि दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका मुद्दा फाँटका नासु हरि सिग्देलका अनुसार यस घटनाका आरोपितहरु काफ्ले र रिजाल दुबैलाई बुधबारको प्रमुख जिल्ला अधिकारीको इजलासले थुनामा राख्ने आदेश गरेको हो ।
गत जेठ १३ गते राति अभियुक्त काफ्लेबाट यज्ञपुरी क्षेत्रमा गोली प्रहार हुँदा स्थानीय २३ वर्षीय राजन खड्का गम्भीर घाइते भएका थिए । उनको हाल नयाँ दिल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त काफ्लेको साथबाट एउटा चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोली र गोलीको खोका प्रहरीले बरामद गरेको थियो ।
जेठ १३ गते राति दुई बजे गोली प्रहार भएको थियो । त्यसअघि मकैबारीमा हवाइ फायर भएको प्रहरीको भनाइ छ । भारत लखनउमा बस्दै आएका काफ्ले यज्ञपुरीमा रहेकी दिदीको घर आएका थिए ।
दिदीले गाउँमा चोरको बिगबिगी बढेपछि घरमा सुरक्षाका लागि भाइ मणिलाई बोलाएकी थिइन् । यस घटनाले गाउँलेहरु झनै असुरक्षित महशुस भएको भन्दै सुरक्षाको माग गर्दै चितवन प्रहरी कार्यालय घेर्न पुगेका थिए । यस क्षेत्रमा बस्तीको विकास तीव्र गतिले हुँदा सुरक्षामा भने कुनै चासो नदिएको आरोप स्थानीयको छ ।
प्रतिक्रिया