मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साथी भेट्नुअघि नै कालले भेट्यो

साथी भेट्नुअघि नै कालले भेट्यो


गैंडाकोट । विद्यालय क्षेत्रमा गाडीको रफ्तार कम गर्नुपर्ने नियम छ । विद्यालय समयमा गाडी चलाउँदा झनै होसियार हुनुपर्छ । तर यो नियमको ख्याल कम चालकले मात्र गर्छन् । यस्तो महत्वपूर्ण नियम बिर्सेका एकजना चालकका कारण बुधबार बिहान दुई निर्दोष स्कुले बालबालिकाको प्राणपखेरु उड्यो । दुईजना बालिका गम्भीर अवस्थामा हस्पिटलको बेडमा छन् ।  
स्कुलभन्दा दुई सय मिटर वर बीच सडकबाट पर साइडमा साथी कुरेर बसेका विद्यार्थीले आफ्नो हितैषी साथी भेट्न नपाउँदै प्राणले ठाउँ छोड्यो । 
मिनिट्रकको ठक्करबाट नवलपरासी गैंडाकोट नगरपालिका–२ को महेन्द्र स्मारक निम्न माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी तेन्जिङ गाहा मगर र सुस्मिता परियार कहिल्यै नफर्कने गरी बिदा भए । एउटा चालकको लापरबाहीले कलिला स्कुले बालबालिकाको ज्यान जाँदा अभिभावकमा रुवावासी चलेको छ । आँखाको नानीजस्ता छोराछोरी गुमाउनुपर्दा अभिभावकको आँसु खसेको खसै छ । 
घाइते भएका विद्यार्थी दीक्षा र दीया गाहा मगरका अभिभावक गहभरि आँसु बनाउँदै भारी पीडामा हस्पिटलको बेडमा बाबुनानीको कलिलो अनुहार हेरिरहेका छन् । भगवान पुकारेका छन् ।
‘उनीहरु आफ्नै दिशामा सडक किनारमा हितैषी साथी पर्खेर बसेको समयमा उल्टो बाटोबाट तुफान आएको ट्रकले उनीहरुलाई ठक्कर दिँदा दुःखद घटना भएको रहेछ’ विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बिका नेपालीले भनिन् । 
अगाडि रोकेको एउटा स्कुल बसलाई पार गरेर अगाडि जाने क्रममा ट्रकले सडक किनारभन्दा पर बसेका विद्यार्थीलाई ठक्कर दिएको हो । ‘ट्रक बढी स्पिडमा थियो । अगाडि रोकी राखेको स्कुल बस देख्यो । त्यसलाई उछिनेर अगाडि जान्छु भन्दा अनियन्त्रित भयो र सडक किनारमा बसेका विद्यार्थीलाई ठक्कर दिँदै अगाडि बढ्यो’ प्रहरी नायब निरीक्षक विकास अधिकारीले भने ।
‘बिहान साढे ९ बजे घटना भयो, जहाँ ठक्कर दिने ट्रकको गति पूरै अनियन्त्रित थियो’ विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बिका नेपालीले भनिन्, ‘साथी भेट्न नपाउँदै गए ।’ न्यायचोक नजिकमा विद्यार्थीलाई ठक्कर दिएपछि सडक छाडेर ट्रक बकैनाको रुखमा गएर ठोक्किएको थियो ।
‘बकैनाको रुख अगाडि एउटा साइनबोर्ड छ । ट्रकले त्यो बोर्ड पनि भाँचेर त्यसभन्दा अगाडिको बकैनाको रुखमा गएर ठोक्किएपछि बल्ल रोकिएको छ’ स्थानीय गंगा राई मगरले भनिन्, ‘ट्रक कति स्पिड रहेछ, तपाइँ अनुमान लगाउनुहोस् त !’ गैंडाकोटको सूर्य बिनायक बोर्डिङ स्कुलले सोही ठाउँबाट नियमित विद्यार्थी ल्याउन गाडी रोक्ने गर्दथ्यो । ट्रकले पार गरेर अगाडि जान खोजेको बस सूर्य बिनायक बोर्डिङ स्कुलकै थियो ।
घाइते दीक्षा र दीया गैंडाकोट भृकुटी चोकमा बस्ने धनराज गाहा मगरका छोरीहरु हुन् । मृतक तेन्जिङ धनराजका भान्जा हुन् ।