मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सवारी दुर्घटनामा दुई विद्यार्थीको मृत्यु, दुई घाइते

सवारी दुर्घटनामा दुई विद्यार्थीको मृत्यु, दुई घाइते


 नवलपरासी । नवलपरासीको गैंडाकोटमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजना विद्यार्थीको ज्यान गएको छ । दुर्घटनामा परी अन्य दुई जना विद्यार्थी घाइते भएका छन् ।
 
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रेम जोशीले दिएको जानकारीअनुसार बा १ ख ७७८५ नम्बरको मिनी ट्रकले विपरीत दिशामा गएर सडकमा हिँडिरहेका विद्यार्थीहरुलाई ठक्कर दिएको थियो । गैंडाकोट २ मा रहेको महेन्द्र स्मारक विद्यालयमा अध्ययनका लागि जाँदै गरेका ती विद्यार्थीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रकले गैंडाकोट–२ शिलान्यासचोकदेखि केहीभित्र ठक्कर दिएको थियो ।
 
ठक्करबाट घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजना विद्यार्थीको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा गैंडाकोट–२ निवासी ९ वर्षीय तेन्जिङ गाहा र १२ वर्षीया सुम्मिता परियार रहेका छन् । त्यस्तै गरी गैंडाकोट–२  कै ९ वर्षीया दिया गाहा र १२ वर्षीया दीक्षा गाहा घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
 
यसैबीच, आक्रोशित स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय गैंडाकोटअगाडि प्रदर्शन गरेका थिए । जसका कारण केही समय सडकसमेत अवरुद्ध भएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिए । त्यसैगरी नवलपरासीको गैंडाकोट १२ मा जुम्लाबाट काठमाडौंजाँदै गरेको ना ५ ख ६२६५ नम्बरको बस पल्टँदा बसमा सवार ४ जना घाइते भएका छन् ।