चितवन । जेठ महिनाको अन्तिम समयसम्म चितवनको कुल विकास बजेटमध्ये ३६ प्रतिशतमात्र खर्च भएको छ । आर्थिक वर्षको अन्तिम महिनासम्म आइपुग्दा विकास बजेटको आधा रकम पनि खर्च नहुनाले चितवनमा यस वर्ष विकास गतिविधि खासै नभएको पुष्टि हुन्छ । अघिल्लो आर्थिक वर्षमा चितवनको विकास बजेट खर्च ७० प्रतिशतको हाराहारीमा रहेको थियो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरले दिएको जानकारीअनुसार चितवनको कुल विकास बजेट २ अर्ब २६ करोड ७६ लाख ९५ हजारमध्ये जेठ मसान्तसम्ममा ८२ करोड ३१ लाख ५८ हजार ७८२ खर्च भएको छ ।
जेठ महिनामा मात्रै २३ करोड ६० लाख ४१ हजार विकास बजेट निकासा भएको कार्यालयका प्रमुख कोष नियन्त्रक नारायण शर्माले जानकारी दिए । उनका अनुसार कुल बजेटको लगभग आधा हिस्सा रहेको मुग्लिन–नारायणगढ सडक खण्डको बजेट २४ करोडमात्र खर्च भएको छ ।
ठेकेदार पक्षले मोबिलाइजेसन खर्चअन्तर्गत २४ करोड गत वैशाख र जेठ महिनामा निकालेपछि चितवनको विकास बजेट केही बढेको देखिएको हो । अघिल्लो वर्ष यस आयोजनाको सम्झौता नहुँदा पूरै रकम फिर्ता भएको थियो ।
यस चालू आवमा सम्झौता भएर सर्वेको काम जारी रहेको छ । ‘२४ करोड ९६ लाख मोबिलाइजेसनबापत निकासा भएको छ, प्रमुख शर्माले भने, ‘बाँकी रकम खर्च नहुने पक्का भएको छ ।’ यसरी हेर्दा चितवनमा प्राप्त विकास बजेटमध्ये यस चालु आवमा झण्डै १ अर्ब रूपैयाँ फ्रिज हुने देखिएको छ ।
विकास गतिविधि सञ्चालन गर्ने जिल्ला विकास समिति, सडक डिभिजनलगायतका कार्यालयले पनि खर्च गर्न सकिरहेका छैनन् । हालसम्म चितवनको कुल बजेटको ३६ प्रतिशतमात्र खर्च भएको देखिएकोमा असार मसान्तसम्म खर्च प्रतिशत ७० को हाराहारीमा पुग्ने प्रमुख शर्माको भनाइ छ । तर सरसर्ती हेर्दा चितवनको विकास बजेट चालु आवमा ५० प्रतिशतबाट केहीमात्र उकालो लाग्ने देखिएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको ७९ करोड खर्च नहुने पक्का भएको छ । त्यस्तै, सडक डिभिजन कार्यालय भरतपुरको यस चाल वर्षको कुल बजेट ३० करोड रहेकोमा हालसम्म १० करोडमात्र खर्च भएको छ । यस कार्यालयका केही कामहरु जारी रहेकाले खर्च बढ्ने उनले बताए ।
जिल्ला विकास समिति चितवनको कुल १३ करोड ६६ लाखमध्ये हालसम्म जम्मा ६ करोडमात्र खर्च भएको छ । अधिकांश कार्यालयले आधाभन्दा बढी बजेट खर्च गरे पनि करोडौं रकम भएका कार्यालयले आधा पनि रकम खर्च गर्न सकेका छैनन् ।
असार २५ गतेसम्म रकम भुक्तानी प्रक्रिया जारी रहने हुँदा खर्च प्रतिशतमा केही घटबढ हुनसक्ने प्रमुख नारायण शर्माको भनाइ छ ।
प्रतिक्रिया