दोलखा । लामाबगर गाविस–३, तल्लोटोलमा नेपाली सेनाको आधार शिविर रहेको स्थानमा सुक्खा पहिरो जाँदा तामाकोसी आयोजनाको सुरुङ बनाउन प्रयोग हुने जिलेटिन विस्फोट भएको छ ।
आज बिहान ११ः३० बजे सुक्खा पहिरो जाँदा कन्टेनरमा भएको जिलेटिन पड्केको हो । पहिराको कारण ब्यारेक पुरिँदा त्यहाँ रहेका नौ नेपाली सैनिक सामान्य घाइते भएका छन् । सो घटनाको सैनिक प्रवक्ता जगदीश पोखरेलले पुष्टि गर्नुभएको छ । विस्फोटको आवाजले नजिकै रहेको प्रहरीको कार्यालय र केही स्थानीयवासीको घरको सिसा फुटेको बताइएको छ ।
विस्फोटबाट नेपाली सेनाको अस्थायी आधार शिविर पूर्ण रूपमा क्षति हुनाका साथै नजिकै रहेको भारतीय ठेकेदारको शिविर पनि पुरिएको छ । कति टन जिलेटिन विस्फोट भएको हो भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरीले जनाएको छ । नजिकै रहेको डिभिजन सडक कार्यालयको जिलेटिन भने सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
पानी परेर जाने पहिरासँगै सुक्खा पहिराको पनि त्यत्तिकै भएको प्रजिअ देवेन्द्र लामिछानेले बताउनुभयो । स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले तत्काल पुनःस्थापना गर्न सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
आजै भीमेश्वर नगरपालिका–१३ साखिने नजिकै पहिरो जाँदा करिब आठ घन्टा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर अस्थायी रूपमा बाटो खुलाइए पनि सडक जीर्ण भएको स्थानीयवासी हरिबोल बस्नेतले बताउनुभयो । यता डिभिजन सडक कार्यालय दोलखाले वर्षात् समयलाई हेरी सडक पुनः सञ्चालन गर्न ठूला उपकरण ल्याएर कार्यालय परिसरमा राखिएको जनाएको छ । रासस
प्रतिक्रिया