मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तिम्ल्याहा दाजुभाइ तीनैजना डाक्टर

तिम्ल्याहा दाजुभाइ तीनैजना डाक्टर


चितवन । एउटी आमाले एकैपटकमा तीन सन्तान जन्माएको समाचार नौलो होइन, एकै आमाले चार सन्तान जन्माएको समाचार पनि यदाकदा सुन्ने गरिन्छ । तर तिम्ल्याहा छोरा जन्माएर उनीहरूलाई नर्सरीदेखि एमबीबीएस तहसम्मको परीक्षा उत्तीर्ण गराउन सफल आमाबाबुको समाचार भने सबैका लागि आश्चर्यको विषय बन्न सक्छ ।
 
ती भाग्यमानी आमाबाबु हुन्, चितवन भरतपुर उपमहानगरपालिका पारसनगरका शिवप्रसाद देवकोटा र शकुन्तला । शकुन्तलाले २०४८ असोज ६ गते बिहान आठ मिनेटको फरकमा तीनवटा छोरा जन्माएकी थिइन् । ती छोराहरूको नाम उनीहरूले क्रमशः सौगात, सौजन र सौरज राखिदिए । छोराहरू हुर्केपछि उनीहरूलाई नर्सरीमा अध्ययनका लागि देवकोटा दम्पतीले काठमाडौं थलीस्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलमा भर्ना गरिदिए । एसएलसी पनि उनीहरूले सोही स्कुलबाट उत्तीर्ण गरे । 
 
तर संयोग नै भन्नुपर्छ, नर्सरीदेखि एसएलसीसम्मको अध्ययनमा उक्त स्कुलमा उनीहरूलाई जित्ने अरू कुनै विद्यार्थी आएनन्, अर्थात् कक्षा दससम्म तीन दाजुभाइले मात्र पालैपालो प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्दथे । सोही स्कुलबाट तीनै दाजुभाइले एसएलसी विशिष्ट श्रेणीमा उत्तीर्ण गरे । एसएलसीपछि आईएससी अध्ययनका लागि तीनैजनाले माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिए, उत्तीर्ण पनि भए।
 
आईएससी अध्ययन सकेपछि थप अध्ययनका लागि भने सर्‍यो। आईएससीसम्म एकै विषय पढ्ने तीन दाजुभाइको रुचि भए पनि थप अध्ययनमा कुन विषय रोज्ने भन्नेमा समस्या पर्‍यो।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सौगातले भने, “तीनजनामध्ये कुनैलाई मेडिकल शिक्षा पढ्ने त कुनैलाइ इन्जिनियरिङ पढ्ने इच्छा जाग्यो। तर, बाल्यकालदेखि एकै विषय पढेका र सबै स्वभाव पनि मिल्ने हुनाले अन्त्यमा एमबीबीएस अध्ययन गर्ने सल्लाह भयो। कुरा पनि मिल्यो।”
 
तीन दाजुभाइ र आमाबाबुको राय मिलेपछि एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा भर्ना भए उनीहरू। उक्त कलेजबाट यसै वर्ष एमबीबीएस तहको अध्ययन गरेका तीनैजना अहिले सोही कलेजले सञ्चालन गरेको अस्पतालमा इन्टर्नसिप गरिरहेका छन् । असल चिकित्सक बनेर नेपालका दुर्गम भेगमा रहेका गरिब तथा असहाय नागरिकको सेवा गर्ने इच्छा रहेको तीनै दाजुभाइले बताए ।
 
कार्यक्रममा तिम्ल्याहाका बाबु शिवप्रसादले छोराहरूको सफलताले आफूलाइ निकै हर्षित तुल्याएको बताए । उनले भने, “हामीले तिम्ल्याहा छोराछोरी जन्मेका समाचार त थुप्रै पटक हेरिरहेका छौं, सुनिरहेका छौं । तर, तिम्ल्याहा भईकन पनि छोरा हुनु, त्यसैमाथि नर्सरीदेखि एमबीबीएससम्म सँगसँगै अध्ययन गरेर एकै पटक एमबीबीएस उत्तीर्ण हुनु भनेको हाम्रो परिवारका लागि मात्र नभएर राष्ट्रकै लागि सुखद समाचार हो जस्तो लाग्छ।”
 
तीनै छोरालाइ थप अध्ययन तथा रोजगारीका लागि विदेश नपठाउने बरु नेपालकै कुनाकाप्चामा दुःख पाएर बसेका नागरिकको सेवामा लगाउने उनले बताए। तीनै छोराको सफलता र संयोग हेर्दा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा पनि नाम लेखाउन सकिनेमा आफू विश्वस्त रहेको पनि बाबु शिवप्रसादले बताए ।
 
आमा शकुन्तलाले बाल्यकालमा तिम्ल्याहालालाई हुर्काउँदा बेहोर्नुपरेको सबै कष्ट अहिले छोराहरूले प्राप्त गरेको सफलताले बिर्साइदिएको बताइन् ।  देवकोटा दम्पतीले पहिलो सन्तानको रूपमा तिम्ल्याहाअघि एक छोराको जन्म दिएका थिए । पहिलो छोरा शौरभले पनि यसै वर्ष इन्जिनियरिङतर्फ एमईको अध्ययन सकेका छन्। –अन्नपूर्ण पोष्ट