मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मलमासका कारण सुनचाँदीको व्यापार ठप्प

मलमासका कारण सुनचाँदीको व्यापार ठप्प


चितवन । गत बुधबारबाट मलमास अर्थात् पुरुषोत्तम महिना सुरू भएको छ । हिन्दू धर्मशास्त्रअनुसार ‘मलमास’ भनेको सामान्य महिनाभन्दा फरक अधिक महिना भएको वरिष्ठ ज्योतिष तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक कृष्णप्रसाद पौडेलले बताए । 
 
मलमासको समय अशुभ रहने भएकोले विवाह, व्रतबन्धजस्ता ठूला प्रकारका धार्मिक कार्यहरु नगरिने धार्मिक प्रचलन छ । मलमासका कारण यस्ता ठूला धार्मिक कार्यक्रमहरु रोकिएपछि यसको प्रत्यक्ष प्रभाव सुनचाँदी देखिएको छ । विशेष गरेर विवाह, व्रतबन्धहरुमा सुनचाँदीको प्रयोग भएको पाइन्छ । भूकम्पका कारण गिरावट आएको सुनचाँदीको बजारलाई मलमासले अझै पीडा थप्ने काम गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
 
आर बी सुनचाँदी पसलका सञ्चालक विनोद रसाइलीले मलमासले शुभकार्य नहुने हुनाले सुनचाँदी किन्ने ग्राहकको कमी भएको बताए । मानिसहरु  बजारमा किनमेलको लागि निस्कदा सुनचाँदी खरिद गर्न त्यति चासो नदेखाएको उनको भनाइ छ । उनले भने,‘भूकम्पको कारण करिब ५० प्रतिशत ग्राहकमा कमी आएको अवस्थामा मलमासमा त झन् ग्राहक भेट्नै गाह्रो छ ।’ 
 
मलमासले ग्राहकहरु घटेको नारायणगढ सुनचाँदी पसलकी सञ्चालक यसोदा सेन्चुरीले बताइन् । उनले भनिन् ‘आजभोलि सुनपसल सुनसान बनेका छन्, सोचेजस्तो व्यापार भएको छैन ।’
 
बी एण्ड बी सुनचाँदी पसलकी सञ्चालिका निलिमा विश्वकर्माले पनि उनको पसलमा सुनचाँदीको कारोबार पहिलेभन्दा केही न्यून भएकोे बताइन् । पहिले दैनिक करिव १० वटा सुनचाँदीका वस्तुहरु खरिद बिक्री हुनेमा अहिले मुस्किलले ५ देखि ६ वटा आइटमहरु बिक्री हुने गरेको उनको भनाइ छ । 
 
सुनको व्यापार ठप्प नभए पनि पहिलेको तुलनामा कम ग्राहक आउने गरेको आंशिल ज्वेलर्सकी सञ्चालिका सीता आचार्यले बताइन् । पसलमा ग्राहकहरु मालमासमा सुनचाँदी किनबेच गर्न हुदैँन भन्दै नआएको उनले बताइन् । ‘मलमासमा विवाह गर्नु हुँदैन भन्छन्’ उनले भनिन् ‘यतिबेला मानिसहरु सुनचाँदी किन्नु पनि अशुभ भन्छन् ।’
 
भूकम्प जस्तो महाविपत्तिले डामाडोल भएको सुनचाँदी व्यवसायमा मलमासको प्रभावले व्यापारमा थप घाटा आइपरेको नारायणगढमा सुनचाँदी व्यवसाय गर्दै आएका मनकामना ज्वेलर्सका सञ्चालक हरि पन्थीले बताए । २१ औँ शताब्दीमा पनि मानिसहरु यस्तो अन्धविश्वाशमा लाग्दा आफूलाई अझै पनि १६ शताव्दीमा भएको महसुस भएको उनको भनाइ छ । ‘खै नेपाल बाहिर त धमाधम विवाह गरिरहेका छन् त’ उनले भने ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा !’