धादिङ । मिनिट्रकको ठक्करबाट बिहीबार दिउँसो धादिङको भुमेस्थान–६ सिम्लेस्थित पृथ्वीराजमार्गमा एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।
भुमेस्थान गाविसको एक्लेफाँटबाट काठमाडौंतर्फ जाँदै गरेको बा १९ प ८३७५ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट नुवाकोटको विदुरतर्फ जाँदै गरेको बा ३ ख ७८६६ नम्बरको मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ गोगनपानी–५ मान्खुका २१ वर्षीय रविन्द्र भुजेलको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार मिनिट्रकको ठक्करपछि ढलेका भुजेललाई पछाडिको चक्काले किचेको थियो ।
मोटरसाइकल चालकलाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौं पठाए पनि उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । भाग्दै गरेको मिनिट्रकलाई गल्छी प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । ट्रक र चालक दुवैलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।
प्रतिक्रिया