मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उद्धार गरिएकी युवतीलाई ५० हजारमा बेचेको खुलासा

उद्धार गरिएकी युवतीलाई ५० हजारमा बेचेको खुलासा


काठमाडौं । राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो । छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घस्रिँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया ९नाम परिवर्तन० को त यही भूकम्पले झन्डै जीवन नै भत्काइदिएन।
 
बिहेको प्रलोभनमा भारत, मेघालय पुर्‍याएकी उनी ५० हजारमा बेचिइसकेकी थिइन्। धन्य १ आफू राखिएको होटल सञ्चालिकाको निगरानीले यौनकोठीको नरक पुग्नबाट उम्किइन् र प्रहरीले उद्धार गरी नेपाल फर्कायो। उनलाई झैं भारत पुर्याइएका १५ युवती नरकबाट उद्धार गरिए पनि भारतमै एक संस्थाको संरक्षणमा छन्। अझै केही युवतीको अत्तोपत्तो छैन।
 
महानगरीय प्रहरी परिसर, भक्तपुरमा भेटिएकी हरिमायाले आफू बेचिएको र उम्किएर फर्कन सफल भएको दर्दनाक कथा बाँडिन्।
हरिमाया दाइसँगै भक्तपुरस्थित डेरामा बस्दै आएकी थिइन्। कारखानामा काम गर्थिन्। भूकम्पले भक्तपुरको डेरा भत्किएसँगै टेन्टको बास सुरु भयो। प्रेसमै चिनजानका सुमन तामाङले उनीसँग बिहेको प्रस्ताव राखे। १८ वर्षीया हरिमाया ९नाम परिर्वतन० यो प्रस्तावले दंग भइन्। भावी जीवनका कैयन् रंगीन सपना उनको मनमा एकसाथ जन्मिए र हल्किए।
 
उनले धेरै सोचिनन्, सुमनसँग बिहे गर्न राजी भइन्। सुमनको भित्री अनुहार ख्यालै नगरेकी हरिमाया कसैलाई सुइँको नदिई जेठ २० गते उसैसँग भागिन्। सुमनले हरिमायालाई कहिले कोटेश्वरमा राखे, कहिले चितवन पुर्या ए। बिहे गर्छु भनेर फकाए र बिहेपछिका सबै कर्म भ्याए। उनी ढुक्क थिइन्– बिहे नै गर्छु भनेपछि नाइँनास्ति गरिनन्।
 
भूकम्पले तहसनहस पारेको नेपालमा बस्न गाह्रो हुने भन्दै उनले हरिमायालाई भारत लगेर खुसीसाथ राख्ने प्रस्ताव राखे। जीवनै सुम्पेको सुमनमाथि शंका गर्नुपर्ने कुनै कारण थिएन। सुमनले जे–जे भने उनले नाइँनास्ति गरिनन्। नयाँ जीवनका अनेक सपना बुन्दै उनी भारतको मेघालय पुगिन्।
 
मेघालयमा सुमनले नै दिदी भन्दै चिनाएकी एक युवतीले जब उनलाई ५० हजारमा किनेको सुनाउँदै दिल्ली जान कर गर्न थालिन्, बल्ल उनले भेउ पाइन्, विश्वास गरेर नेपालदेखि सँगै आएको व्यक्ति त चेलीबेटी बिक्री गर्ने दलाल पो रहेछ।
 
त्यसो त मेघालयमा उनलाई राखिएको होटल सञ्चालिकालाई त्यो युवकका गतिविधिमा पहिल्यै शंका लागिसकेको थियो। नत्र हरिमाया अहिले दिल्लीको कुनै कोठीमा नारकीय जीवन बिताइरहेकी हुन्थिन्। संयोगबस नुवाकोटबाट मेघालय पुगेर होटल व्यवसायमा लागेकी संगीता श्रेष्ठको साथले उनी बेचिए पनि कोठी पुग्नबाट जोगिइन्।
 
घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर, भक्तपुरका एसपी विकास श्रेष्ठका अनुसार सँगै काम गर्ने सुमनले वैशाख २० गते हरिमायालाई भगाएर कोटेश्वरमा रहेका दाइको घरमा २ दिनसम्म राखेका थिए। कोटेश्वरमा २ दिन बसेपछि सुमनले उनलाई सस्तोमा कपडा किन्ने भन्दै ट्याक्सीमा राखेर चितवन पुर्याएपछि राम्रो जीवन बिताउने भन्दै २ वर्षसम्म भारतमा बस्ने प्रस्ताव राखेका थिए।
 
चितवनबाट बस चढाएर लगेपछि उनले कहाँ पुगियो भन्ने भेउ नै पाइनन्। उत्रिँदा पो भारतको मेघालय पुगिसकेकी थिइन्।
सुमनको बदलिएको व्यवहारले भने उनलाई कताकता चिसो पसिसकेको थियो। बसबाट ओर्लिनै नदिने, बसमा बस्दा पनि सलले मुख छोप्न लगाउने, शौचालय जाँदासमेत पछि लाग्ने उसको व्यवहार अनौठो लागेको थियो हरिमायालाई । आफू बेचिनै लागेको त उनले कसरी सोच्नु !
 
‘सुमनले नेपालमा बसेर केही हुन्न, दुई वर्षजति भारतमा गएर बसौं भन्यो,’ महानगरीय प्रहरी, भक्तपुर परिसरमा रहेकी हरिमायाले भनिन्, ‘यताबाट जाँदा उसले बाटोमा देखाएको व्यवहारले शंका त लागेको थियो तर बिहे नै गर्छु भनेकाले बेच्न लैजाँदैछ भनेर सोच्नै सकिनँ।’
 
जेठ २४ मा मेघालय पुग्दा सुमन र हरिमायासँगै अन्य युवक पनि थिए। उनीहरु मेघालयको जुन होटलमा बसे, संयोगबस त्यो नेपालीमूलकी संगीताको थियो।
 
भर्खरकी किशोरी लिएर होटल पुगेका केटा देख्दा उनको मनमा शंका लाग्यो। सोधखोज गर्दा बिहे गरेर आएको भनेकाले उनले कोठामा बस्ने अनुमति दिइन्।
 
पीडित युवतीको प्रारम्भिक बयानअनुसार उनीहरु होटलमा बसेका बेला सुमनले एक युवतीलाई ‘दिदी’ भनेर चिनाएका थिए। ती युवती नेपालबाट जाँदा सँगै थिइनन्। दोस्रो दिन उनी आएर सोही होटलमा बसिन्।
 
होटलमा बसेको चौथो दिन अन्दाजी ३० वर्षजतिकी ती महिलाले झोलामा रहेको सुमन र हरिमायाको कपडा छुट्ट्याएर अर्को झोलामा राख्न थालेपछि बल्ल उनको मनमा चिसो पसेको थियो।
 
कपडा किन छुट्ट्याएको भनेर सोध्दा सुमन ढोकामै थिए। केही नबोली बाहिरिए उनी। हरिमायाले कपडा नछुट्ट्याउनुस् भनेर जिद्दी गरेपछि दिदी भनाउँदीले उनलाई भनिन् , ‘तिमी मसँग दिल्ली जाने हो।’ आफू एक्लै नजाने बताएपछि ती महिलाले ‘सुमनले ५० हजार लिइसक्यो, तिमी मसँग जानुपर्छ’ भनिन्। विवाहको प्रलोभनमा सुमनले आफूलाई बेचेको बल्ल भेउ पाइन् हरिमायाले।
 
यता जेठ २६ गते बिहान उनीहरु बस्ने कोठामा हल्लाखल्ला भएपछि संगीता के भयो भन्दै कोठामा पुगिन्। ढोकानजिकै रहेका सुमन र अर्की महिला केही डराएझैँ देखिए। होटल सञ्चालिकाले ‘प्रहरी बोलाइदिऊँरु’ भनेपछि हरिमायालाई छाडेर दुवै जना होटलबाट बाहिरिए, अनि फर्किएनन्।
 
यता, नेपालमा एकाएक बहिनी हराएपछि हरिमायाका दाइ खोज्न भौंतारिइरहेका थिए। हरिमाया मेघालयको होटलमा रहेको जानकारी पाउँदा उनी झसंग भए।
 
नेपाल प्रहरीमै रहेका आफन्तमार्फत घटना महानगरीय प्रहरी परिसर भक्तपुरसम्म पुगेपछि मेघालयको प्रहरीसँग समन्वय गरेर प्रहरीले उनलाई सकुशल स्वदेश फर्काउन सफल भयो। उनलाई विवाहको प्रलोभनमा पारेर मेघालयसम्म पुर्याएर दलाललाई बेच्ने सुमन भने अझै फेला नपरेको बताइएको छ । नागरिक दैनिक