मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकको विकासमा सबै मिलेर जुटौँ – राष्ट्रपति डा यादव

मुलुकको विकासमा सबै मिलेर जुटौँ – राष्ट्रपति डा यादव


लहान । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक अस्थिरताका कारण मुलुकको अमूल्य २० वर्ष खेर गएकाले अब सबै मिलेर देशको विकासमा जुट्नुपर्ने बताउनुभएको छ । 
 
सप्तरीको लोहजारामा राष्ट्रपति तराई–मधेस चुरे संरक्षण विकास समितिको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको ठाकुर बाबा दह समुदायलाई हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले मुलुकको विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “अमूल्य २० वर्ष खेर गएको छ, अबपनि सचेत नभए मुलुकका लागि हुने छैन ।” चुरेको संरक्षण गर्न सकिए भूकम्पको जोखिमका साथै अन्य प्राकृतिक प्रकोप न्युन गर्न सकिने विचार व्यक्त गर्दै उहाँले चुरेको संरक्षणका लागि सबैसँग आग्रह गर्नुभयो । 
 
चुरे बचाउन नसकिए भविष्यमा थुप्रै समस्या थपिने बताउँदै उहाँले चुरे क्षेत्र वरपर बालुवा गिट्टी उत्खन्न गर्न राखिएका क्रसर उद्योग हटाउन सरकारसँग पहल वचनबद्धता प्रकट गर्नुभयो । 
 
यसअघि, आजै उहाँले सिरहाको लहान नगरपालिका–१७ तरेगना गोबिन्दपुरस्थित देवी दह पर्यटकीयस्थल क्षेत्रको अवलोकन गरी सो स्थानमा वृक्षरोपण गर्नुभएको थियो । नेपाली सेनाद्वारा जीर्णाेद्वार गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सरकारको योजना छ । 
 
सो अवसरमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानसेनापति गौरवशम्शेर जबरा, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिका संयोजक रामेश्वरप्रसाद खनाल र जल उत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार श्रीवास्तव, जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षा अङ्गका प्रमुख, वन उपभोक्ता समितिका पदाधिकारीलगायतले पनि वृक्षरोपण गर्नुभएको थियो । 
 
देवी दह सामुदायिक वन उपभोक्ता समितिद्वारा संरक्षित देवी दह क्षेत्रमा नेपाली सेनाको टोलीले जीर्णाेद्वार गरी पर्यटकलाई आर्कषित गर्न यस क्षेत्रमा प्रतिक्षालय, वनभोज स्थल निर्माण गरेका छन् ।  आजै राष्ट्रपति डा यादवले सप्तरीको पंसेरा गाविस–६ स्थित चुरे जङ्गल क्षेत्रमा पनि वृक्षरोपण गर्नुभयो । रासस