मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पैसा कमाउन कतार पुगेका उज्ज्जल अस्पतालको शैयामा

पैसा कमाउन कतार पुगेका उज्ज्जल अस्पतालको शैयामा


 
दोहा, कतार । रोजगारीको सिलसिलामा डेढ महिनाअगाडि कतार आएका भद्रपुर–६ झापाका १९ वर्षीय उज्जल राजवंशीको दुबै मृगौला खराब भएपछि समस्यामा परेका छन् । उनी गत २५ मेईदेखि हमद हस्पिटलको बेड नं।३५० मा उपचारार्थ छन् ।
 
कतार आएको महिना दिनमा नै मेडिकल पास भएर भिसा लगाईएका उनलाई एक महिनापिछ पेट दुख्न थालेको थियो । साधारण होला भनेर सनैयाका क्लिनिकबाट औषधि ल्याएर एक हप्ता सेवन गरेका उनी निको हुने दिन कुरिरहेका थिए । पेट दुख्ने बिमार निको नभएपछी पुनः हमद हस्पिटलमा पुगेर स्वास्थ्य परीक्षण गरेका थिए । त्यहाँबाट उनले एक्कासी दुबै मृगौला खराब भएको थाहा पाए । त्यो दिन उनलाई ठुलो बज्रपात पर्यो । उनी यतीबेला हप्ताको ३ पटक डायालासिस गरेर जीवन बचाईरहेका छन् ।
 
एसएलसी पास हुन नसकेपछी परिवारको खर्च धान्न लायन्स ईन्टरनेश्नल म्यानपावरबाट १ महिना पहिला कतार आएका उनी कतारमा आफन्त कोही नभएको बताउँछन् । दुबै मृगौला खराब भएको खबरले उनको आत्मवल कमजोर भएको छ । उनी भन्छन ‘कतार गएर घरको ऋण तिरौला र सानो परिवारलाई खुसीसाथ पालौला भनेको यस्तो समस्या आईलाग्यो अब त बाच्दिन होला ।’
 
उनको घरमा बुबा मनिस्वर, आमा अन्जली र भर्खर एसएलसी दिएर बसेकी बहिनी शिल्पा छन् । घरको आर्थिक स्थिती अत्यन्तै नाजुक छ । कतार आउने ७० हजार ऋण खोजेर आएको उनी बताउँछन् । “१ महिनाको तलव के बुझेको थिए अस्पताल भर्ना हुनुपर्यो, अब ऋण कसरी तिर्ने अनी उपचार गराउने खर्च कहाँबाट जुट्छ खै मरिन्छ होला” उनले मलिनो हुँदै भने ।  उनलाई बचाउन मृगौला प्रत्यरोपण गर्नुपर्ने डाक्टरले बताएको छ ।
 
अस्पतालको शैयाबाट उनी भन्छन् “कसैलाई पनी यो उमेरमा मलाई जस्तो दुःख नपरोस्, विदेशको ठाउँमा आफन्तविना अस्पतालको बेडमा दिन काट्न साह्रै गाह्रो हुनेरहेछ ।” कतारको यस्तो गर्मीमा काम गर्ने नेपालीहरुसँग मेरो उपचार गराउनुछ भनेर कसरी सहयोग मागौ उनी भन्छन् । “सहयोग गरिदिए त बाच्ने थिए, समाजका लागी केही गर्ने थिए, ति बुढेसकाल लागेका बा, आमा र त्यो सानी बहिनीलाई अव कस्ले हेरिदिन्छ” उनी भन्छन् ।
 
कतारको लेण्डमार्क गुप्रमा मार्केटको काममा आएका उनलाई कम्पनीले यो हप्ता नै नेपाल पठाउन लागेको सोही कम्पनीमा कार्यरत राजन चापागाँईले बताए । “उनी नयाँ छन् त्यसैले कम्पनीले खासै सहयोग गर्ला भन्ने अपेक्षा छैन तर कम्पनीमा कार्यरत कामदारहरुलाई सहयोगका लागी अपिल गरिएको छ” उनी भन्छन् । अहिले सम्म हप्ताको ३ पटक डायालासिस गर्ने खर्च ६ सय रियाल कम्पनीले नै बेहोरेको छ तर नेपाल पठाएपछि उपचार गर्ने खर्च छैन । नेपालमा पीडितका बुबासँग फोनमार्फत कुरा गरेका चापागाईले घरको अवस्था बारे बुझेका थिए ।
 
“उसको घरमा साह्रै नाजुक अवस्था छ, घरमा सम्पत्तीको नाममा १४ धुर जग्गा बाहेक केही छैन, पहिले उँ बिरामी परिरहने रहेछन्, त्यही ऋण पनि अझैसम्म तिर्न नसकेको रहेछ” चापागाईले बताए । एउटा मात्र छोरो उज्जल अव केही गर्ला भन्ने परिवारलाई आश थियो । तर कतार पुगेको २ महिना नवित्दै अस्पतालको शैयामा छटपटाईरहेको खबरले परिवारलाई असह्य भएको छ ।
 
उनको उपचारका लागी चितवन युवा समूह कतारका महासचिव समिर खत्री र राजन चापागाईले सहयोग जुटाउन अभियान शुरु गर्न लागेका छन् । कतारमा कार्यरत सम्पूर्ण व्यवसायी तथा नेपाली कामदारहरुलाई सहयोगका लागी अपिल गर्दै कलिला उज्जललाई बचाउन आग्रह गरेका छन् । उनको मृगौला प्रत्यारोपण गर्न ठुलै रकम लाग्छ तर उनको पारिवारिक स्थिती अत्यन्तै नाजुक छ ।
 
घरको अन्य आर्थिक स्रोत नभएकाले उनको उपचारका लागी परिवारले खर्च जुटाउन नसक्ने भन्दै कतारमा सहयोगका लागी आग्रह गरिएको छ । १९ वर्षीय उज्जलको जीवन बचाउनका लागी सहयोग गर्न चाहाने सहयोगी मनहरुले समिर ६६६४०२४१ र राजन ७०७४८६३१ लाई सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।