मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कुवेतको जेलमा नेपाली चेली फुलसरी राईको बिचल्ली

कुवेतको जेलमा नेपाली चेली फुलसरी राईको बिचल्ली


खोटाङ । विदेश जानुअघि नेपाली युवाको सपना हुन्छ, पैसा कमाउने अनि फर्किएर परिवारका साथमा सुखसँग जीवन बिताउने । यही सपनाले खोटाङको जालपा–७ की फुलसरी राईलाई पनि कुबेतसम्म पुर्‍यायो । विदेशको सपना सोचेजस्तो उनलाई भएन। कमाई भएको पैसा आइएमइमार्फत घरमा पठाएर फर्कनेक्रममा उनी प्रहरीको फन्दामा परिन्। अमिन इस्लाम नाम गरेका बंगाली साथीसहित उनी लागूऔषधसँगै पक्राउ परे। ७ वर्ष अघिदेखि कुबेतमा जेल जीवन बिताइरहेकी फुलसरीका अनुसार उनीहरु पैसा आइएमइ गरेर कार्यरत स्थानतर्फ फर्कदै थिए। बाटोमा प्रहरीले सवारीसाधन चेकजाँच गरिरहेको थियो।
 
सोहीक्रममा ट्याक्सी चालक ‘पेट्रोल हाल्न’ भन्दै ट्याक्सीबाट बाहिरिए। तर ट्याक्सी बाहिर निस्किएको चालक फर्किएनन्। प्रहरीले आएर उनीहरु चढेको ट्याक्सी पनि चेकजाँच गरे। उनीहरु चढेको ट्याक्सीबाट लागूऔषध बरामद भयो। उनीहरु दुवैजना पक्राउ परे। फन्दामा परेपछि मात्र उनीहरुलाई थाहा भयो पक्राउ पर्ने डरले चालक ट्याक्सी छाडेर भागेका रहेछन्। कतिसम्म भने ट्याक्सी समेत चोरीको रहेछ। ‘पेट्रोल हाल्ने बाहनामा निस्केको चालक थाहै नपाइ भागेछ,’ फुलसरीले उद्धारका लागि परिवारलाई लेखेको पत्रमा भनेकी छन्, ‘दोषी हामी भयौँ, सजायको भागिदार हामी भयौँ।’
 
उनीहरुलाई छुटाउन स्वयं मालिक समेत पुगे तर उनीहरुलाई छुटाउन सफल भएनन्। जेलबाट फोन गर्ने वा चिट्ठीपत्र लेखेर आफ्नो अवस्थाको बिषयमा परिवारलाई जानकारी दिने सुविधा छ। परिवारसँग सम्पर्कबिहीन बनेर जेलमा कोचिनुको विवशतामा पुगिन् उनी। फुलसरी रहेकै जेलबाट छुटेका एक नेपालीको साथमा फुलसरीले घरमा पत्र पठाएपछि धेरै कुरा बाहिर आएका हुन्। कुबेतको अदालतका अनुसार उनीहरुलाई १५ वर्षको कैद सजाय सुनाइएको छ। पछिल्लो समय ५ वर्ष घटाएर १० वर्ष मात्र कैद बस्नुपर्ने भनेको उनको चिट्ठीमा उल्लेख छ। पक्राउ परे यता उनी परिवारसँग सम्पर्कबिहीन थिइन्।
 
घरमा परिवार तड्पिरहे उनी जेलमा। फुलसरी राईले पठाएको चिठी कुबेतको जेलबाट छुटेर फर्किएका नेपालीले ल्याएको त्यही चिट्ठीको आधारमा लामो समयपछि फुलसरी र परिवारबीच फोन सम्पर्क सुरु भएको छ। त्यसअघिसम्म परिवारलाई फुलसरीको अवस्थाका बिषयमा कुनै जानकारी थिएन। ‘अहिले पनि डेढ महिना भयो, दिदिसँग सम्पर्क भएको छैन,’ उनकी बहिनी अमृता राईले भनिन्, ‘फोन गर्दा रिसिभ भएको छैन।’ अमिनलाई छुटाउनका लागि भने बंगलादेशको राजदुताबासले पहल गरिरहेको छ। बंगाली दुताबासमार्फत अमिनले फुलसरीका लागि वकिलको व्यवस्था गरिदिएको र सो वापत लागेको १२ लाख खर्च उनै अमिनले तिरिदिएको पत्रमा उल्लेख छ। तत्कालिन समयमा कुबेतमा नेपाली दुताबास नभएका कारण आफ्नो लागि लड्ने कोही नभएकाले अमिनको सहयोग लिनुपरेको उनले बताएकी छन्।
 
‘बाबा आमा मेरो यो व्याथाहरु सुन्दा अनौठो लाग्ला, बिश्वास नहोला,’ उनले पत्रमा भनेकी छन्, ‘तर बास्तबिकता यही हो’ उनले बिदेश छँदा बितेको हजुरमालाई अन्तिम श्रद्धाञ्जली दिन नपाएकोमा दुःख व्यक्त गरेकी छन्। ‘बजुले कति दुःख गरेर हुर्काउनु भयो, अन्तिममा बजुको लाश पनि देख्न पाइन,’ पत्रमा उल्लेख छ।
 
जेलबाटै उनले बाबुआमालाई आफ्नो ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेकी छन्। कुबेतमै अर्की खोटाङे युवतीको अवस्था पनि नाजुक छ। खोटाङ हौंचुर–३ की उर्मिला राई चोरी अभियोगमा कुबेतको प्रहरी कार्यालयमा तारिख धाउँदैछिन्। सन् २००९ मा भारतहुँदै कुबेत पुर्याइएकी उर्मिला ७ वर्षसम्म घर फर्कन पाएकी छैनन्। पहिलो साहुसाहुनीले दुई महिना लगत्तै छाडिदिए। त्यसपछि उनी दोश्रो घरमा काम गर्न पुगिन्। त्यहीबाट सुरु भयो उनको दुःखका दिन। घर फर्कन टिकट मागिन् वर्ष दिनपछि मात्र दिने भनियो। अर्को घरमा जान खोज्दा एक लाख मागियो।
त्यतिमात्र नभएर सुन र पैसा चोरेको आरोप लगाएर उर्मिलालाई जेल नै पुर्याए।
 
दुई महिनामै निकालेको पहिलो साहु/साहुनीले नै उर्मिलालाई जेलबाट छुटाए। त्यसपछि उनी तेश्रो घरमा पुगिन्। उर्मिला राई अढाई वर्ष काम गरिन्। तर न तलब पाइन् न घर फर्कने टिकट नै। काम र दाम नपाएपछि उनले साँढे तीन वर्षदेखि गैर–कानूनीरुपमा काम गर्दैआएकी छन्। हाल उनले कामसँगै तारिख धाइरहेको बहिनी मेलिनाले बताउँछिन्।