मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवघाटको गुरूयोजनामा बजेट नपाएको गुनासो

देवघाटको गुरूयोजनामा बजेट नपाएको गुनासो


देवघाट, चितवन । देवघाट क्षेत्र विकास समितिका पदाधिकारीहरुले देवघाट क्षेत्रको विकासका लागि निर्माण गरिएको २१ वर्षे गुरूयोजना सरकारले स्विकृत गरिसकेको भए पनि कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन नहुँदा समस्या परेको गुनासो गरेका छन् । 

देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न के गर्नुपर्ला भन्ने विषयमा आयोजित जनबहसमा समितिका पदाधिकारीहरुले योजना बनेर पनि बजेट पाउन नसकेको बताएका हुन् । समितिका अध्यक्ष शैलेन्द्र पियाले धार्मिक पर्यटन विकासका लागि सरकारले थोरै बजेट विनियोजन गरेका कारण गुरुयोजना निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि प्रगति नभएको बताए । 

गुरुयोजना अनुसारका कार्यक्रमका लागि वार्षिकरुपमा करोडौं बजेट आउनुपर्नेमा केही लाख रूपैयाँ प्राप्त गर्न पनि मुस्किल पर्ने गरेको जानकारी दिए ।

समितिका कार्यकारी निर्देशक जयकृष्ण सुवेदीले मागअनुसारको बजेट प्राप्त भए देवघाट क्षेत्रले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । समितिका सदस्य तथा वातावरण संरक्षण समितिका संयोजक टंकनाथ पौडेलले पर्यटक आकर्षण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरे । 

जिल्ला विकास समिति चितवनका पर्यटन क्षेत्र हेर्ने शाखा अधिकृत प्रकाशचन्द्र पौडेलले देवघाट क्षेत्र जिविसको प्राथमिकतामा परेको भन्दै आगामी वर्ष देवघाटमा बाँदर पार्क र सार्वजनिक शौचालय निर्माणका लागि जिविसबाट बजेट विनियोजन हुने बताए । 

कार्यक्रममा उपस्थित सरोकारवालाले देवघाट क्षेत्र दिन प्रतिदिन अस्तव्यस्त र अव्यवस्थित बन्दै गएको, नयाँ संरचना निर्माणको सट्टा भएका संरचना पनि बिग्रिँदै गएको, दुर्गन्ध बढेको तथा बाँदर व्यवस्थापन नहुँदा स्थानीयले सास्ती पाएको गुनासो गरेका थिए ।