मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

समिरालाई गुमाएको पीडामा रोइरहेछ अमेरिकाको डेन्टन सहर

समिरालाई गुमाएको पीडामा रोइरहेछ अमेरिकाको डेन्टन सहर


टेक्सास जेठ २९ – अमेरिकाको  डालसबाट नजिकै रहेको डेन्टन सहरमा  आफ्ना पति नवराज शिवाकोटी र  दुई साना छोरीसँगै बसेककी समिरालाई निष्ठुरी दैवले सवै परिवार र साथी-संगीबाट सदासदाका लागि चुँडेर लागेको छ।
 
उमेरले जम्मा नौ महिना पनि नपुगेकी निशिता शिवाकोटी बोल्न सक्दिनन्, तर घरभरि जम्मा भएको भीडमा भने उनले आफ्नी आमा समिरा खोजिरहेकी छिन्। हरेकको अनुहारमा पालै-पालो  हेरेर भईरहेको उनको आमाको यो खोजी अब कहिल्यै पुरा हुने छैन।
 
 
 
 
 
सँगै जिउने र मर्ने जीवनभरीको बाचा बन्धनका साथ ५ वर्ष अघि बाँधिएको समिरा र नवराजको वैवाहिक लगनगाँठो अब कहिल्यै जोड्न नमिल्ने गरी चुँडिएको छ। प्रियतमाको यो असमायिक निधनले स्तब्ध बनेका नवराज दुई दिनदेखि केही नखाई केही नबोली शोकमा छन्।
 
बेला बेलामा ढोकातिर हेर्दै प्रश्न भावले घरी यता घरी उता गरिरहेकी समिरा-नवराजकी जेठी छोरी नताशाले आमाको प्रतिक्षा  गरेको प्रष्ट हुन्छ, तर  नियतिको निर्दयी खेलसँग बिल्कुल अपरिचित  २८ महिनाकी  यी अबोध नताशालाई के थाहा- उनकी आमा अब फर्केर कहिल्यै आउदिनन्  भनेर।
 
सबैका मन यो पीडाले भक्कानिएका छन्। ' सिङ्गो गाउँ रोएको छ, विश्वासै गर्न नसकिने यो  अकल्पनीय पीडा हामी सबैका लागि बज्रपात भएको छ' स्थानीय सन्तोष चौधरीले गला अबरुद्ध पार्दै भने।
 
कलोनी सहरमा रहेको आफ्नै पसलमा काम गरिरहेको अवस्थामा गत बुधवार बिहान समिराको  हत्या भएपछि शिवाकोटी परिवार मात्र शोकमा छैन, डेन्टनको सिङ्गो नेपाली समाज नै रोइरहेछ। समिराका पति नवराज तथा शिवाकोटी परिवारलाई समवेदनाका साथै  यो दुखद घडीमा साथ दिन पुगेका हरेकका आँखा रसाएका छन्।
 
शिवाकोटी परिवारका हितैषी र छिमेकी अनन्त भट्टराईले आफ्नो फेसबुकमा नियतिप्रति आक्रोश  पोख्दै लेखे – 'कति क्रुर छ नियति।  भट्टराईझैँ कसैले आफ्नो पीडा रोएर धोएका छन्, कसैले सामाजिक संजालहरुमा समवेदना सन्देशका साथ आफ्नो मन हलुका पारेका छन्। 
 
 
केहीदिन अघि मात्र दिनभरि  समिरासँगै समय बिताएकी अनु भट्टराईका आँखा गएको दुई दिनदेखि  बग्न बन्द भएका छैनन्। "फर्केर आउँछ झैँ लाग्छ'  अनुले आँसु पुछ्दै भनिन्  'दैव निष्ठुरी भएपछि कसैको केही लाग्दो रहेनछ।'
 
 सन् २००४ मा अमेरिका छिरेका नवराजको विवाह समिरासँग पाँच  वर्षअघि  नेपाल मै भएको थियो। दोलखाको सुनपानी पुर्ख्यौली घर भएका शिवाकोटी दाजु विष्णु शिवाकोटी र भाइ नवीन शिवाकोटी तथा परिवारका साथ अमेरिकामा बस्दै आएका थिए।
 
समिराको माइती घर नेपालको सर्लाही जिल्लाको  कर्माइमा रहेको शिवाकोटी परिवारले जानकारी दिएको छ। २००९ मा विवाह भए पनि तिन वर्षअघि मात्र समिरा अमेरिका आएकी थिइन्।
 
अत्यन्त मिलनसार स्वभाव भएकी मृदुभासी समिरा र उनका पति नवराज सहित शिवाकोटी परिवारले स्थानीय कलोनी सहरमा '-यापिडो'  नामक कन्भेनियन्स स्टोर सञ्चालन गर्दै आएका थिए। बुधवार बिहान अश्वेत वर्णको एक लुटेराले समिराको गोली हानी हत्या गरेको थियो। 
 
 ३१ वर्षीया समिराको घटनास्थल मै निधन भएको थियो ।
कडा परिश्रम र इमान्दारिता मूल मन्त्र बनाएर 'अमेरिकन ड्रिम' हासिल गर्न लागिपरेका नवराज र समिराले केही वर्ष पहिले मात्रै घर किनेका थिए। सधैँ हाँसी रहने र कसैको आँखामा समेत नबिझाउने शिवाकोटी परिवारको यो पीडामा नर्थ टेक्सासका धेरै नेपालीहरूले शोक जनाएका छन्।
 
शिवाकोटीको घर मै आएर र फोन, टेक्स्ट तथा फेसबुक मार्फत यो पीडामा समबेदना जनाउने नेपालीले समिराको मृतु शिवाकोटी परिवारको लागि मात्र क्षति नभएर सिङ्गो नेपाली समाजको क्षति भएको बताएका छन्। 
 
 
 
 
 
 
 
टेक्सासमा  नेपालीहरुको ठुलो संस्था नेपाली  समाज टेक्सासले  मृत  आत्माको चिर शान्तिको कामना  गर्दै समवेदना प्रकट गरेको छ।  समाजका सभापति भुवन आचार्यद्वारा फेसबुकमा प्रकाशित सन्देशमा भनिएको छ – यो हामी सबैको लागि दुखको घडी हो, शिवाकोटी परिवारमा भएको यो घटनामा हामी अत्यन्त  मर्माहत छौ। मृत आत्माको चिर शान्तिको कामना गर्दछौ।
 
समिरालाई गुमाएको पिडामा रोईरहेछ अमेरिकाकोडेन्टन सहर- अलबिदा समिरा !