मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ताप्लेजुङको पहिरोमा ५७ को मृत्यु, दुई दर्जन बढी घर बगे

ताप्लेजुङको पहिरोमा ५७ को मृत्यु, दुई दर्जन बढी घर बगे


 
पाँचथर । ताप्लेजुङको उत्तर–पश्चिमी छ वटा गाउँ विकास समितिमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । स्थानीयवासीले पहिरोमा पुरिएर ५७ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले भने अहिलेसम्म २३ जनाको शव फेला परेको र ३७ जना बेपत्ता रहेको जनाएको छ ।
 
घटनामा परी गम्भीर घाइते भएका १० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला अस्पताल ताप्लेजुङ पु¥याइएको छ । तीमध्ये पाँच जनाको अवस्था नाजुक रहेको छ । स्थानीयवासी हेम लिवाङका अनुसार लिवाङ गाविसको वडा नं १ मा १२ जना, २ मा आठ जना, ३ मा चार जना, ४ र ६ मा एक÷एक जना गरी २६ जनाको मृत्यु भएको छ ।
 
उहाँका अनुसार मृत्यु हुनेमा वडा नं १ का सञ्चहाङ फेम्सोहाङको एकै परिवारका नौ जनासहित एउटै घरमा रहेका १० जनाको मृत्यु भएको छ । यस्तै, सान्थाक्रामामा १२ जना, खोक्लिङमा नौ जना, थिङलाबुको याक्पेलीमा पाँच जना र लिङतेपमा पाँच जनाको मृत्यु भएको छ ।
 
पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास र डाँडामा रहेका दुई दर्जनभन्दा बढी घर पहिरोले बगाएको छ । पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । लगातारको झरीका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी डमरूप्रसाद निरौलाले बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “गएरातिको वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेकाले झनै समस्या परिरहेको छ, घटनास्थलमा पुग्न बाटो नभएकाले वैकल्पिक बाटोको प्रयोग गरेर सुरक्षा निकाय गइरहेका छन् ।”
 
 
प्रधानमन्त्री र एमाले अध्यक्षको अवलोकन कार्यक्रम स्थगित
 
मौसममा खराबी भएका कारण प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आजको प्रभावित क्षेत्र अवलोकन कार्यक्रमसमेत स्थगित भएको छ । प्रभावित क्षेत्रमा कुहिरो लागिरहेका कारण उद्धारका लागि आएको हेलिकप्टर सशस्त्र प्रहरी बलको कञ्चनजङ्गा गुल्ममा रोकिएको प्रजिअ डमरूप्रसाद निरौलाले जानकारी दिनुभयो ।
 
ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको अझै उद्धार हुन सकेको छैन । बुधबार राति गएको पहिरोको निरीक्षणका लागि प्रधानमन्त्री, एमाले अध्यक्ष र प्रधानसेनापति राणासहितको टोली यहाँ आउने कार्यक्रम थियो ।
 
काँग्रेसद्वारा दुःख व्यक्त 
ताप्लेजुङमा अविरल वर्षाका कारण पश्चिमी क्षेत्रका विभिन्न गाउँमा पहिरोले भएको क्षतिप्रति सत्तारुढ दल नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले आज एक विज्ञप्ति जारी गर्दै पाँच दर्जनभन्दा बढी व्यक्तिको मृत्यु, दर्जनौँ व्यक्ति बेपत्ता, भौतिक सम्पत्तिको क्षति र ठूलो सङ्ख्यामा विस्थापित भएको घटनाप्रति दुःख प्रकट गर्नु भएको हो । काँग्रेसले विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति साहस र धैर्यपूर्वक विपत्तिको सामना गर्न आग्रह गरेको छ । 
 
प्र्राकृतिक विपत्को यस घडीमा सम्पूर्ण प्रभावित जनताप्रति पार्टीले आफ्नो साथ, सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै हराएका व्यक्तिहरूको तदारुकताका साथ खोजी, घाइतेको उपचारको प्रबन्ध तथा पीडित परिवारलाई तत्काल राहत र सहयोग गर्न सरकारसँग आग्रह गरेको छ । यस्तै काँग्रेसका स्थानीय पार्टी निकायहरू तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारको उद्धार गर्न, राहत उपलब्ध गराउन तथा आवश्यक सहयोग पु¥याउन नेपाली काँग्रेसले निर्देशनसमेत दिएको छ । रासस