नेपाल

भूकम्पपीडित युवतीहरु भारतीय कोठीमा

भूकम्पपीडित युवतीहरु भारतीय कोठीमा


काठमाडौँ । भूकम्पबाट अति प्रभावित जिल्लाका अस्थायी क्याम्पमै पुगेर मानव तस्करले कम उमेरका नेपाली युवती भारततिर ओसार्न थालेका छन् । राहत वितरणका नाममा भूकम्पपीडित क्याम्प पुगेका दलालले रोजगारीको प्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाई भारतीय विभिन्न सहरका वैधानिक यौनबजार कोठीमा लगेर बेचिरहेको खुलेको छ।
 
वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेपछि भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी र युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि भएको हो।
 
एक सातायता मात्र मुम्बईको भिवन्डीबजारबाट १२ र उत्तरप्रदेश, आगराको कास्मिरीबजारस्थित यौनअखडामा बेचिएका तीन नेपाली युवतीलाई मानव बेचबिखनविरुद्ध काम गर्ने भारतीय संस्थाको सहयोगमा उद्धार गरिएको छ।
 
भूकम्प प्रभावित जिल्लाका युवतीहरु मानव तस्करबाट उच्च जोखिममा रहेको भन्दै प्रहरीले स्थल र हवाई नाकामा कडाइ गरे पनि तस्करले स्थलमार्गबाट सहजै नाका कटाइरहेका छन्। मानव बेचबिखनविरुद्ध काम गरिरहेको भारतीय संस्था रेस्क्यु फाउन्डेसनका अनुसार भारतीय सहर कलकत्ता, कालीगढ, कानपुर, बलेरीलगायत स्थानमा रहेका यौनअखडामा समेत पछिल्लो समय नेपाली युवती बेचिने क्रम बढेको सूचना संस्थामा आइरहेको छ।
 
फाउन्डेसनका रिसोर्स म्यानेजर राजेश चतुर्वेदीले कोठीमा बेचिएको सूचना आए पनि थप तीन नेपाली युवतीको अवस्था अझै खुल्न सकेको छैन। भूकम्प प्रभावित जिल्लाका नेपाली युवतीलाई कामको प्रलोभन देखाएर मुम्बईका कोठीमा ल्याएर बेचेको र बेचिएका युवतीमा कम उमेरका रहेको सूचनाका आधारमा फाउन्डेसनले जेठ २० मा प्रहरीको सहायता लिएर भिवन्डीबजारका कोठी छापा मार्दा १४ युवती फेला परेका थिए। तीमध्ये १२ जना भूकम्पपछि त्यहाँ लगेर बेचिएको खुल्यो। यो खबर नागरिक दैनिकमा छापिएको छ । 

शेयर गर्नुहोस:

0
Shares