मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

चितवनमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ


हिमालय खबर,  चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली लाइसेन्स बनाउने कार्यमा सक्रिय रहेको अभियोगमा १० जना गिरोहलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नमस्ते स्टेशनरी सेन्टर शहिदचोक, नारायणगढबाट पसल सञ्चालक दिलीप श्रेष्ठसहित अन्य ६ जनालाई पक्राउ गरेको छ । यस्तै एटुजेड प्रिन्टिङ एण्ड ग्राफिक सेन्टरका सञ्चालक धर्मपाल विकसहित अन्य २ जनालाई नियन्त्रणमा लिइएको छ । पसलहरुबाट नवीकरण गर्दा बुझाउने सक्कली लाइसेन्सको स्टिकर नक्कली लाइसेन्समा प्रयोग गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
यस्तै पसलहरुबाट सरकारी कार्यालय, विद्यालयका छाप, व्यक्तिगत जग्गा धनीका प्रमाणपुर्जासहितका किर्ते कागज बनाउन प्रयोग गरिने सामाग्रीहरु बरामद गरेको छ । यस्तै नक्कली परिचयपत्र, लाइसेन्स, सरकारी कागजपत्र बनाउने गरेको सुराकीका आधारमा पसलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ ।
 
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पक्राउपर्नेमा नमस्ते स्टेसनरी सेन्टरका सञ्चालक भरतपुर उपमहानगरपालिका वडा नं १३ का ३० वर्षीय दीलिप श्रेष्ठ, कर्मचारी सोही उपमहानगरपालिकाका २४ वर्षीय विनोद श्रेष्ठ, २२ वर्षीया प्रतिमा श्रेष्ठ, १९ वर्षीया सिजन जोशी, १७ वर्षीय लेविन जोशी, १९ वर्षीय सफल चुके र २१ वर्षीय अफजल मिया रहेका छन् । त्यसैगरी, अन्य पक्राउपर्नेमा ए टु जेड प्रिन्टिङ तथा ग्राफिक सेन्टरका सञ्चालक भरतपुर—११ का २७ वर्षीय धर्मपाल विक, कर्मचारी सोही स्थानका १७ वर्षीय हेमन्त श्रेष्ठ र गोरखा फिनामका २५ वर्षीय शिव थापा रहेका छन् । 
 
निजहरूले नारायणगढ सहिदचोकमा रहेको नमस्ते स्टेसनरी र ए टु जेड प्रिन्टिङ तथा ग्राफिक सेन्टरमा नक्कली लाइसेन्स, नागरिकता, विद्यार्थी परिचयपत्र, गाविस सिफारिस, भ्याटसम्बन्धी कागजात, नोटरी पब्लिकसम्बन्धी, सङ्घसंस्थाको नक्कली परिचयपत्र बनाउनेजस्ता गैरकानुनी कार्य हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिप्रकाका प्रहरी निरीक्षक रुगमबहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले ती दुवै पसलमा खानतलासी गरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । ती दुवै पसलबाट छाप, हस्ताक्षर, होलोग्रामलगायतका सामग्री पनि बरामद गरेको उहाँले बताउनुभयो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमै राखिने हिमालय खबरलाई बताए । उनीहरुलाई मुलुकी ऐन किर्ते कागजको महल बमोजिम १ वर्षसम्म कैद सजाय हुनेछ । निजहरूलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान गरिने प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस मुद्दामा एक वर्षसम्म कैद सजाय हुन्छ । निजहरूले  यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग मिलेमतो गरी नक्कली कागजातसमेत बनाउँदै आएको हुनसक्ने आशङ्का समेत प्रहरीले गरेको छ । वैदेशिक रोजगार प्रयोजनका लागि पनि कीर्ते काम गर्दै आएको बताइएको छ ।