मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिरियामा बन्धक सुनितालाई नेपाल फर्काइँदै

सिरियामा बन्धक सुनितालाई नेपाल फर्काइँदै


धादिङ । दलालले सिरिया पु¥याएर घरेलु कामदारका रुपमा काम लगाई बन्धक बनाइएकी धादिङ नीलकण्ठ नगरपालिका–८ मगर गाउँकी सुनिता मगरको उद्धारका लागि विभिन्न देशमा रहेका नेपालीहरुले चासो देखाएपछि उनी देश फर्कन पाउने भएकी छन् । 
एक वर्षअघि दलालमार्फत् सिरिया पु¥याइएकी नेपाली चेली सुनितालाई नेपाल फर्काउन रकमको अभाव भएपछि नेपालीहरु उनको सहयोगमा जुटेका हुन् । नेपाल फर्किने टिकट किन्न आवश्यक रकम साथमा नहुँदा सुनिता द्वन्द्वग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कन पाएकी थिइनन् ।

रोजगारीका लागि भन्दै दलालले एक वर्षअघि सिरिया पु¥याएर छोडेकी सुनिताको काम गरेबापतको तलब पनि सोही दलालले अग्रीम भुक्तानी लिएर गएका कारण सुनिताको बिचल्ली भएको हो ।

धादिङ मैदी घर भई हाल फिनल्याण्ड बस्ने गैरआवासीय नेपाली संघ, एनआरएन फिनल्याण्डका कार्यकारी अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा सुनिताको पछिल्लो अवस्था पत्ता लाग्नुका साथै उनको पासपोर्ट साहुबाट फिर्ता पाएपछि सुनितालाई त्यहाँबाट उद्धारको प्रयास गरिएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार खर्च अभावकै कारण सुनितालाई नेपाल फर्काउन नसकिएपछि एनआरएन फिनल्याण्डमार्फत् विभिन्न देशमा छरिएर रहेका नेपालीहरुबाट ८ सय यूरो संकलन गरिएपछि सुनिता नेपाल फर्कने बाटो खुलेको हो । सुनिताको टिकट खर्चका लागि सुरू गरिएको सहयोग संकलन अभियानमा एकै दिनमा विभिन्न व्यक्तिबाट ८ सय यूरो जम्मा भएपछि सो रकम सुनितालाई उपलव्ध गराई नेपाल फर्काउन लागिएको श्रेष्ठले बताए ।

विवाहको केही वर्षपछि श्रीमान्ले सौता भित्र्याएपछि एक छोरा र एक छोरीलाई माइतीमा छोडेर सुनिता कमाउने उद्देश्यले वैदेशिक रोजगारीका लागि गएकी थिइन । सरकारले काम गर्न जानका लागि अनुमतिसमेत नदिएको देशमा पुगेकी सुनिताले चार महिनाअघि आमालाई फोन सम्पर्क गरी आफू बन्धक बनेको र काम गरेबापत ज्याला पनि नपाउने गरेको बताएपछि उनी बिचल्लीमा परेको रहस्य बाहिर आएको हो ।

दलालले उनलाई कसरी सिरिया पु¥याएको हो भन्ने बारेमा केही खुल्न नसके पनि सुनिताले आमालाई फोन गरी आफू बाँचेर घर फर्कन सक्ने अवस्था नरहेको भन्दै आफ्नो घरफिर्तीका लागि पहल गर्न आग्रह गरेको समाचार प्रकाशित भएपछि उनको खोजी अभियान सुरू गरिएको श्रेष्ठले बताए ।

आफ्नै जिल्लाकी चेली विदेशमा अलपत्र परेको खबर थाहा पाएपछि अन्तर्राष्ट्रिय नियोगहरुमार्फत् सुनिताको खोजी गर्दा सिरियामा घरेलु कामदारको रुपमा बन्धक बनाएर काममा लगाएको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए ।

सुनिताको अवस्था पत्ता लागेपछि उनलाई सकुशल उद्धारका लागि पहल सुरू गरिएको हो । एनआरएन सदस्य श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय नियोगमार्फत् धेरै पटकको प्रयासपछि सुनिताको रोजगारदाताले उनलाई घर फर्काउन सहमति जनाएका हुन् ।

सुरूमा दलालले अग्रीम लगेको रकम फिर्ता दिनुपर्ने शर्त राखेर मालिकले असहयोग गरे पनि पटकपटकको आग्रहपछि मालिकले पासपोर्ट फिर्ता दिएर सुनितालाई घर पठाउन अनुमति दिएको श्रेष्ठले बताए । दलालले लगेको भनिएको अग्रीम रकमका बारेमा भने केही खुल्न सकेको छैन ।

सिरियाबाट नेपाल फर्कनका लागि करिव ८ सय अमेरिकी डलर खर्च लाग्ने भएपछि मंगलबार बिहानदेखि सुरू भएको अभियानमा एकै दिनमा ८ सय डलर संकलन भएपछि छिट्टै टिकट खरिद गरी सुनितालाई नेपाल पठाइने कार्यकारी अध्यक्ष श्रेष्ठले बताए ।