मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतबाट आएको राहत सामग्री नष्ट गरिने

भारतबाट आएको राहत सामग्री नष्ट गरिने


हेटौँडा । मकवानपुरमा राहतका लागि भारतबाट पठाइएको धेरैजसो सामान अखाद्य रहेको पाइएको छ । भारतको कलकत्ताबाट सुख्खा बन्दरगाहा पर्सा हुँदै नेपाल भित्रिएको विभिन्न खाद्यान्न कुहिएको अवस्थामा रहेका छन् । कुहिएको सामानसँगै नेपालमा नै प्रतिबन्धित गरिएको र भारतमा कम प्रतिवन्ध लगाइएको म्यागी चाउचाउसमेत राहतका नाममा हेटौंडामा आएको छ ।
 
जिल्लाका भूकम्पपीडितका लागि राहतका वितरण गर्न पठाइएका सामग्री केही कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्थापना गरिएको कमाण्ड पोष्टमा कार्यरत नायव सुब्बा सहदेब आचार्यले बताउनुभयो ।
 
राहतका नाममा पठाइएको आलु, प्याज अधिकाँश कुहिएको अवस्थामा पाइएको छ । कुहिएका सामग्री ट्रकबाट अनलोड गर्दासमेत सशस्त्र प्रहरी, जनपथ प्रहरीले नाक नै थुनेर अनलोड गर्नुपर्ने बाध्यता भएको बताएका छन् । आलु र प्याज कुहिएर समस्या भएसँगै प्रतिबन्धित म्यागी चाउचाउका २३ कार्टुन पनि राहतका रुपमा नेपाल पठाइएको नायव सुब्बा आचार्यले बताउनुभयो ।
 
यस्तै, अरु राहतका सामाग्रीहरुमा ५० पिस कम्बल पठाइएको भए पनि  च्यातिएका र प्रयोग गरिएका कम्बलसमेत पाइएको छ । राहतका सामग्री पठाउँदा अखाद्य र कुहिएका सामग्री पठाएकोमा भूकम्पपीडितले विरोध गरेका छन् ।
 
प्रयोग गर्न नमिल्ने राहतका सामग्री भूकम्पपीडितलाई वितरण नगरी नष्ट गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो । नेपालमा प्रतिबन्ध नै लगाइएको म्यागी चाउचाउ, कुहिएका आलु, प्याजलगायतका सामाग्रीहरु मुचुल्का उठाएर नष्ट गरिने उहाँले बताउनुभयो ।