नेपाल

भूकम्प प्रभावित गोरखाको १३ गाविस सार्न आग्रह

भूकम्प प्रभावित गोरखाको १३ गाविस सार्न आग्रह


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित गोरखाको १३ गाविसलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरेको छ ।
 
गोरखाका स्थानीयबासी र आयोगका पदाधिकारीसँग आज भएको भेटमा भूकम्प प्रभावित गोरखाका १३ गाविसका बस्ती बस्न लायक नभएकाले सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो । 
 
भूकम्प प्रभावित गाविसका बासिन्दाले बस्तीहरू सार्दा धार्मिक तथा सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्ने, तिब्बती नाकाबाट आवतजावत सहज हुने व्यवस्था मिलाउनुपर्ने, असोजसम्म पुग्ने खाद्यान्न रहेकाले जतिसक्दो चाडो खाद्यान्नको व्यवस्था गर्नुपर्नेलगायत माग गरेका थिए । 
 
समयमै स्थानान्तरण गरी उचित व्यवस्थापन गर्नुका साथै पहिरोमा पुरिई बेपत्ता भएकाको खोजी गर्नुपर्ने, भूकम्पमा क्षति भएकालाई परिचयपत्र, राहत तथा क्षतिपूर्ति सरल रूपमा उपलब्ध गराइदिन आयोग समक्ष आग्रह गरेका थिए ।
 
आयोगका अध्यक्ष अनुपराज शर्माले जोखिममा रहेका गोरखाका ती गाविसहरूलाई छिटो सुरक्षित स्थानमा सार्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
त्यस्तै, आयोगले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको ११ वर्ष भइसकेको तर पीडितले न्याय नपाएको भन्दै हत्या प्रकरणबारे भइरहेको छानबिनबारे चासो व्यक्त गरेको छ ।
 
आयोगका सदस्यद्वय सुदीप पाठक र मोहना अन्सारीले उपचार गरिरहनुभएकी गङ्गामाया अधिकारीलाई ट्रमा सेन्टरमा पुगेर  भेट गर्नुभयो ।  
 
भेटमा गङ्गामायाले हत्या प्रकरणबारे धेरै पटकसम्म पेशी सरेको र प्रहरीले इन्टरपोलमार्फत दोषी पक्राउबारे सूचना जारी गरेको सम्बन्धमा भइरहेको प्रयासबारे आफूलाई जानकारी नदिएको बताएको आयोगका सदस्य तथा प्रवक्ता अन्सारीले जानकारी दिनुभयो । रासस

शेयर गर्नुहोस:

0
Shares