मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपतिबाट नुवाकोटमा भएको क्षतिकोअवलोकन

राष्ट्रपतिबाट नुवाकोटमा भएको क्षतिकोअवलोकन


 
नुवाकोट । राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट वैशाख १२ तथा त्यसपछि नुवाकोटमा पुगेको क्षतिको स्थलगत अवलोकन गर्नुभयो । 
 
हेलिकोप्टरबाट गृहमन्त्री र दलका नेतासहित आउनुभएका राष्ट्रपतिले भूकम्पबाट क्षति पुगेका विभिन्न स्थानको अवलोकन गर्दै सबै नेपाली एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताउनुभयो । 
 
राष्ट्रपति यादवले भूकम्पले क्षति पु¥याएका भौतिक संरचनालाई अवसरका रूपमा लिँदै सरकारले तत्काल पुनःस्थापनामा जोड दिन प्रयास थाल्नुपर्ने सुझाव दिनुभएको छ ।  
 
एकता, संयमता, धैर्यता नै नेपालीको विशेषता भन्दै ध्वस्त भएका संरचनालाई पहिलेकै अवस्थामा ल्याउन सरकारले लिने नेतृत्वमा जनताहरूलाई पनि एकीकृत हुन उहाँले आग्रह गर्नुभयो । राष्ट्रपति यादवले पछिल्लो दश वर्षमा मुलुकमा आएको परिवर्तनमा राजनीतिक दललाई जनताले दिएको साथको उपलब्धि ऐतिहासिक रहेको भन्दै भूकम्पले पु¥याएको क्षतिमा पनि सम्बद्ध सबैपक्ष एकै स्थानमा उभिएर राष्ट्र निर्माणको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । 
 
राष्ट्रपतिसँगै भूकम्पले पु¥याएको क्षतिको अवलोकन गर्न नुवाकोट भ्रमणमा रहनुभएका उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सरकारले प्राकृतिक प्रकोपको सामना डटेर गरेकाले धेरै क्षति हुनबाट जोगाएको दाबी गर्नुभयो । अनपेक्षित रूपमा आएको विपत्तिको क्षतिलाई कम गराउन सरकारले देखाएको क्रियाशीलताले त्यसपछि जनजीवन सामान्य बनाउन सक्षम भएको जिकिर गर्नुभएको छ । 
 
गृहमन्त्री गौतमले विपत्तिसँगै सरकारको कमजोरी औँल्याउनेहरूले त्यसपछि महामारीलगायतका घटनाक्रम जोड्दै सरकारको आलोचना गर्नेहरू अहिले सरकारको क्रियाशीलताले मौन रहेको टिप्पणी गर्नुभयो । 
 
उहाँले राहत वितरणमा अनियमितता गर्नेलाई छानबिन गर्ने बताउनुभएको छ । कसैले भ्रष्टाचार गरेमा नेपालमा कारबाही गर्ने निकाय धेरै भएकाले भ्रष्टाचारी कसैलाई पनि नछोड्ने चेतावनी दिनुभयो । 
 
थानसिंह छहरेको जस्ताकाण्डलाई जोड्दै उपप्रधान मन्त्री गौतमले प्रधानमन्त्रीको निर्देशनविपरीत कसैले अनियमितता गरेको ठहरिएमा हदैसम्मको कारबाही हुने चेतावनी पनि दिनुभयो । 
 
राष्ट्रपति, गृहमन्त्रीसहित मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा (माले) का अध्यक्ष सिपी मैनाली तथा सुरक्षा अङ्गका प्रतिनिधिले भूकम्पले क्षति पु¥याएको चौघडा गाविस तथा समग्र जिल्लाको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको थियो । 
 
भूकम्पबाट नुवाकोटमा एक हजार ९३ जनाको मृत्यु भएको छ भने ५५ हजारभन्दा बढी घर पूर्णरूपमा क्षति पुगेको छ । रासस