मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको तापक्रम ४१, जनजीवन प्रभावित

चितवनको तापक्रम ४१, जनजीवन प्रभावित


चितवन । चितवनमा गर्मी असाध्यै बढेको छ । प्रचण्ड गर्मीका कारण चितवनको जनजीवन प्रभावित बनेको छ । गर्मीसँगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । आइतबारमात्रै भरतपुरको तापक्रम ४१ डिग्री सेल्सीयस पुगेको छ । सञ्चारकर्मी पासा दिनेशले शनिबारको तापक्रम ४३ पुगेको सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । 
 
यसरी एक्कासि गर्मी बढेपछि मानिसहरु आत्तिएका छन् । बिहानैदेखि चर्को घाम लाग्ने भएकाले मानिसहरु शीतल छहारी खोज्दै चौतारो र रुखको सहायता लिने गरेका छन् । 
कतिपय मानिसहरु स्वीमिङ पुल र खोलामा पौडी खेलेर गर्मी छल्ने प्रयास गरिरहेका छन् । 
 
भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसनजिकैको रुखको छहारीमा पसिना पुछ्दै बसेका बसन्त तामाङले गर्मीका कारण हिँडडुल गर्नसमेत कठिन हुन थालेको बताए । उनले गर्मीका कारण भारतमा हजारौँ मानिसहरु मरिरहेका बेला नेपालमा पनि त्यो स्थिति आउने हो कि भनेर चिन्ता लागेको बताए । गर्मीबाट बच्न उनले प्रसस्त पानी, फलफूल तथा जुस खाने गरेको बताए । 
 
अत्यधिक गर्मी बढ्न थालेपछि आफूहरुलाई कलेज जान तथा पठ्नपाठन गर्न निकै नै कठिन हुने गरेको वीरेन्द्र क्याम्पस बीएस्सी प्रथम वर्षमा अध्ययनरत शंकरप्रसाद रेग्मीले बताए । कलेज जाँदा आउँदासमेत आफू पसिनाले निथ्रुक्क भिज्ने गरेको उनको भनाइ छ । गर्मीले गर्दा न केही काम गर्न मन लाग्छ, न पढ्न नै मन लाग्छ, उनले भने । 
गर्मीले सबैभन्दा धेरै बाहिर प्रत्यक्ष घाममा काम गर्नेहरु रिक्सा चालक, भरिया तथा मजदुरलगायतलाई प्रभाव परेको छ । ‘रिक्सा लिएर हिँड्दा पिच सडक तातेर हिँड्न ज्यादै गाह्रो भा’छ’ चौबीसकोठीनजिक भेटिएका रिक्सा चालक केशव चमारले भने, ‘गर्मीले कोही पनि रिक्सा चढ्नै मान्दैनन् ।’ 
रिक्सा चलाएर आफूले सोचेजति कमाइ नभएपछि छाक टार्न पनि नपुग्ने हो कि भन्ने डर लागेको बताए । 
गर्मीले गर्दा तरकारी तथा फलफूलहरु बिक्री हुन छाडेपछि सबै कुहिएर गएको क्याम्पाचौरस्थित बालकुमारी मण्डीमा तरकारी बेच्दै आइरहेकी रमा विकले गुनासो गरिन् । गर्मी बढेसँगै ग्राहक आउन कम भएपछि व्यापारमा कमी आएको उनले बताइन् । 
गर्मी बढेसँगै विभिन्न महामारीहरु देखिनसक्ने भएकाले विशेष सतर्क सहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । गर्मीमा पसिनाबाट शरीरले पानीको मात्रा धेरै निस्कने हुन्छ । जसबाट डिहाइड्रेसन हुनसक्ने भएकाले गर्मीबाट बच्नको लागि पानी तथा तरल पदार्थहरु बढी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।