मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झापामा १६ करोडको लागतमा गिरिजाप्रसाद कोइराला स्मृति भवन बन्दै

झापामा १६ करोडको लागतमा गिरिजाप्रसाद कोइराला स्मृति भवन बन्दै


सुरुङ्गा (झापा) । जननायक गिरिजा प्रसाद कोइरालाको स्मृतिमा रु १६ करोडको लागतमा झापामा बन्न लागेको भवन निर्माणबारे उत्पन्न विवाद अन्त्य गर्दै जिल्लाका दलहरूबीच साझा सहमति कायम भएको छ । यसअघि दलहरूबीचको असमझदारीका कारण विवाद उत्कर्षमा पुगेर उक्त योजनाको बजेट फ्रिज हुने अवस्था सिर्जना भएको थियो ।
 
झापाका राजनीतिक दलहरूबीच संवाद समूहको सचिवालयको संयोजनमा आज भएको छलफलमा उक्त भवन निर्माणबारे चारबुँदे सहमति भएको छ । दलहरूबीच गिरिजाप्रसाद कोइराला स्मृति भवन भद्रपुरमै बनाउने र बजेट फ्रिज हुन नदिई यही आर्थिक वर्षबाट काम सुरु गर्ने सहमति भएको छ । 
 
त्यस्तै उक्त भवन निर्माणका लागि अहिले तोकिएको जग्गाको विकल्पमा त्योभन्दा उपयुक्त जग्गा खोजी गर्न दलहरूको सहकार्य र सहमतिमा जिल्ला विकास समितिमार्फत तत्काल कार्य अघि बढाउनेसमेत सहमति भएको छ ।
 
विकास निर्माणलगायत जिल्लाका साझा सवालमा दलीय सहकार्य, सहमति र एकता तथा साझा धारणाका साथ अग्रसर हुने संस्कारलाई अझ दरिलो बनाएर अघि बढ्ने झापाका दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त भवनको योजना प्रस्ताव तथा निर्माण प्रक्रियाको विषयमा स्थानीय विकास अधिकारीबाट भएका काम कारबाहीको समीक्षासहित आगामी दिनमा जिविसमार्फत हुने हरेक विकास निर्माणमा दलीय सहमति लिएरमात्र अघि बढ्नेतर्फ सचेत गराउने सहमति भएको छ ।
 
सहमतिमा नेपाली काँग्रेसका उपसभापति देउमान थेवे, नेकपा ९एमाले०का अध्यक्ष चिन्तन पाठक, स्थानीय शान्ति समितिका संयोजक तथा सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, एकीकृत नेकपा (माओवादी)का ज्योतिसिंह दर्लामी तथा सिपी कडरिया, नेकपा–माओवादीका सेक्रेटरी रोशन कन्दङ्वा, नेकपा ९माले०का सचिव नवराज खरेल, तमलोपाका अध्यक्ष त्रिनारायण राजवंशी, सङ्घीय समाजवादीका इञ्चार्ज धनप्रसाद गुरुङ, सङ्घीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष धनबहादुर पन्धाङ्क सुब्बाले हस्ताक्षर गरेको संवाद समूह सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जानकारी दिनुभयो । 
 
यसअघि उक्त भवन चन्द्रगढीस्थित विद्युत् प्राधिकरण र मेची रङ्गशालाको बीचमा रहेको खाली जग्गामा निर्माण गर्ने तयारी भएपछि दलहरूबीच असमझदारी उत्पन्न भएको थियो । भवनका लागि साढे आठ कट्टा जग्गा आवश्यक पर्ने र रु १० करोड बजेट निकासासमेत भइसकेको बुझिएको छ ।
 
उक्त सहमतिसँगै सर्वदलीय कार्यदल बनाई जग्गा खोजी गरी भवन निर्माण कार्य अघि बढाइने बताइएको छ । रासस