मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गर्मीले तराईको जनजीवन अस्तव्यस्त

गर्मीले तराईको जनजीवन अस्तव्यस्त


वीरगन्ज । केही दिनयता बढेको अत्यधिक गर्मीसँगै चलेको तातो हावाले मध्य तराईको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषगरी मध्यतराईका बारा, पर्सा र रौतहटमा मानिसको दिउ“सो चहलपहल घटेको छ । गर्मीकै कारण रोगको सङ्क्रमण बढेपछि उपचारका लागि अस्पतालमा आउने बिरामीको घुइ“चो लागेको छ । 
 
चिकित्सकहरूले तातो हावा मानव स्वास्थ्यका लागि निकै जोखिमयुक्त भएको बताएका छन् । सुक्खा र तातो हावाका कारण सबैभन्दा बढी बालबालिका जोखिममा परेका छन् । चिकित्सकका अनुसार बढ्दो गर्मीसँगै चलेको तातो हावाका कारण बालबालिकामा बेहोस हुने, भाइरल ज्वरो आउने र कमलपित्त लक्षण बढी देखिएको छ । 
 
नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका बालरोग विशेषज्ञ डा श्यामसुन्दर दास भन्नुहुन्छ – “सामान्य अवस्थामा पठाइएका बालबालिकालाई तत्काल ज्वरो आयो भन्दै अभिभावकले उपचारका लागि फिर्ता लिएर आउने गरेका छन् ।” 
 
अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरो (फिवर) र कमलपित्त हुने गरेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । 
 
बारा, पर्सा, रौतहट र सर्लाहीका साथै नजिकका भारतीय जिल्लाबाट समेत उपचारका लागि यस अस्पतालमा बिरामी आउने गरेका छन् । यस उपक्षेत्रीय अस्पतालमा झन्डै २५० श्यया रहेको छ । 
अत्यधिक गर्मीले गर्दा सरकारी कार्यालयमा सेवाग्राही कम देखिएका छन् । सरकारी तथा निजी विद्यालयमा बिहान पढाउन थालिएको छ । गर्मीले गर्दा विद्यालय तथा क्याम्पसमा पढ्न आउने विद्यार्थीको सङ्ख्या पनि घटेको शिक्षकले जनाएका छन् । 
 
गर्मीका कारण पेय पदार्थको बिक्री ह्वात्तै बढेको छ । कृषकलाई बाली लगाउन र लगाइएको बाली जोगाउन मुस्किल परेको छ । तरकारी तथा फलफूल खेतबारीमै सुक्न थालेका छन् । 
बारा, पर्सा र रौतहटको तापक्रम ४१ डिग्रीदेखि ४३ डिग्री सेल्सियससम्म मापन गरिएको छ । रासस