मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौराहामा पर्यटकलाई पचास प्रतिशत छुट

सौराहामा पर्यटकलाई पचास प्रतिशत छुट


चितवन । क्षेत्रीय होटल सङ्घ चितवनले रत्ननगरस्थित पर्यटकीय क्षेत्र सौराहामा आउने पर्यटकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । क्षेत्रीय होटल सङ्घको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । 
 
सङ्घका महासचिव राममणि खनालका अनुसार भूकम्पपछि सौराहामा सुनसान भएकाले पर्यटकमा सकारात्मक सन्देश एवम् पर्यटन व्यवसायको प्रवद्र्धनका लागि विशेष छुटको निर्णय गरिएको हो । भूकम्पपछि पर्यटकले बुकिङ रद्द गरेकाले उनीहरूलाई आकर्षित गर्न नयाँ प्याकेज ल्याउन लागेको सङ्घले जनाएको छ ।
 
‘सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि प्याकेज घोषणा गरेर पर्यटकलाई निम्तो दिएका हौँ’ उनले भने । सौराहामा अहिले पर्यटक शून्य प्रायः रहेको क्षेत्रीय होटल सङ्घका सचिव दामोदर रेग्मीले बताए । केही लामो समयका लागि आएका र ट्रेकिङ रुटबाट फर्किएका सौराहामा सुरक्षित महसुस गरी बसेका भए पनि अन्य पर्यटक शून्य रहेको उनको भनाइ छ । 
 
नेपालको पर्यटन व्यवसाय सुरक्षित छ भन्ने सन्देश सरकारी तथा गैरसरकारी संस्थाबाट बाहिर पु¥याउनु जरुरी छ । यहाँ भूकम्पअघि होटल भरिएका थिए । विशेषगरी चिनियाँ पर्यटकको बाक्लो उपस्थिति थियो । यहाँ विगत केही वर्षदेखि होटल खुल्ने क्रम तीव्ररुपमा भएको थियो । स्टारतहका होटलसमेत खुल्न थालेका थिए । 
 
पछिल्ला वर्ष ‘अफ सिजन’मा समेत सौराहामा पर्यटक भरिँदै आएका थिए । तर भूकम्पले अहिले व्यवसायनै प्रभावित भएको स्थानीय सपना भिलेज लजका सञ्चालक ध्रुव गिरी बताउँछन् । दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमताका करिब १०० को हाराहारीमा सुविधायुक्त होटल छन् । 
यहाँ हात्ती सफारी, चितवन निकुञ्जमा जङ्गली जनावरको अवलोकन तथा मौलिक संस्कृतिको अध्ययन एवम् चरा अवलोकनका लागि बढी पर्यटक आउँछन् । 
 
भूकम्पका कारण होटलका कर्मचारीसमेत धमाधम घर बिदामा जान थालेका छन् । तीस प्रतिशत कर्मचारीका समेत घर भत्किएकाले उनीहरू घर गएका हुन् । रासस