मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जोखिममा परेका घर भत्काउन सुरु

जोखिममा परेका घर भत्काउन सुरु


भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले गत वैशाख १२ गते आएको ‘गोरखा भूकम्प’ र त्यसपछि आएका परकम्पबाट उच्च जोखिममा परेका घर भत्काउन सुरु गरेको छ । नगरपालिकाले आजसम्म नगरका ५२ घर भत्काइसकेको छ ।
 
जोखिममा परेका घर भत्काउने सम्बन्धमा वडा कार्यालयमार्फत निवेदन लिइएको थियो । प्राप्त ६२३ निवेदनमध्ये उच्च जोखिममा परेका घरलाई पहिलो प्राथमिकतामा राखेर घर भत्काउन सुरु गरिएको नगरपालिकाका वरिष्ठ कानुन अधिृकत तथा सूचना अधिकारी केशव सिलवालले बताउनुभयो । 
 
उहाँले नगरपालिकाका प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीबाट स्थलगत निरीक्षण गरी घर तथा भौतिक संरचना भत्काइएको बताउनुभयो ।
 
उहाँका अनुसार नेपाली सेनाको भैरव बाहन गुल्म गठ्ठाघरले मात्र ४० घर भत्काएको छ । भूकम्पले पूर्ण र आंशिक क्षति भएका घरधनीलाई प्रमाणपुर्जासमेत वितरण गर्न थालिएको छ । गत वैशाख २९ गतेको शक्तिशाली परकम्पको धक्काले थप क्षति भएका घरको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
 
भूकम्पले नगरपालिकामा चार हजार ५८ घरमा क्षति पुगेको थियो । एक हजार १८६ घरमा पूर्ण क्षति, एक हजार ४५४ मा आंशिक र एक हजार ११८ मा सामान्य क्षति पुगेको छ ।
 
सिलवालले वर्षात्मा फैलन सक्ने रोगको प्रकोप न्यूनीकरण गर्न विभिन्न सङ्घसंस्थासँगको साझेदारीमा भूकम्पपीडित बसोबास गरिरहेका स्थानमा अस्थायी शौचालय निर्माण तथा शुद्ध पानीको लागि पानी ट्यांकी वितरणसमेत सुरु गरिएको बताउनुभयो । 
 
नगरपालिकाले लुमन्ती संस्थाको सहयोगमा निकोशेरामा शौचालय निर्माण गरेको तथा वातावरण र जनस्वास्थ्य संस्थाको सहयोगमा कयकुताँ, पोबु, चोडे, निकोशेरा र तछुटोलमा एक हजार लि क्षमताको पानी ट्यांकी वितरण गरेको छ । 
 
त्यसैगरी तछुटोलमै थप ५०० लि क्षमताको एक थान ट्यांकीसमेत प्रदान गरिएको छ । नगरपालिकाले घुम्ती स्वास्थ्य शिविरमार्फत भूकम्पपीडितको स्वास्थ्य परीक्षणसमेत गरेको छ । हालसम्म एक हजार ३२५ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । नगर स्वास्थ्य केन्द्र, थिमि स्वास्थ्य चौकी, बयोधा अस्पताल, किस्ट अस्पताल, धुलिखेल अस्पताल र मेडिकेयरका स्वास्थ्यकर्मीको सहयोगमा निकोशेरा, बोडे, नगदेश, पोबु, भुलाँखेल, तछुटोल, युसिइपी, सानोथिमि, मगरगाउँ, मनोहरा, धुन्चो, नासनानीलगायत स्थानमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
 
सुत्केरीका लागि पाल र कम्बल एक एक थानसमेत वितरण सकिएको छ । हिन्दू स्वयंसेवक सङ्घबाट टिगनीमा कम्बल २०० थान र पाल १० थान वडा कार्यालयको सिफारिसमा वितरण गरिएको बताइएको छ । रासस