मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपछि मनकामना केबलकार बन्द

भूकम्पपछि मनकामना केबलकार बन्द


हिमालय खबर । दारेचोक । वैशाख १२ गते शनिबार परेकाले मनकामना जाने भक्तजनको भीडभाड नै थियो । त्यो दिन केबलकार र मन्दिर परिसरमा झण्डै ५ हजार भक्तजन थिए । १२ बजेको आसपासमा गएको भूकम्पको महसुस केबलकारभित्र रहनेले नगरे पनि बाहिर रहेकाबीच भागदौड नै मच्चियो । परिस्थिति असामान्य बनेपछि व्यवस्थापन पक्षले २० मिनेट सेवा बन्द गरी पुनः सञ्चालन गरेको थियो । 

केबलकारबाट मनकामना मन्दिर पुगेका भक्तजनहरुलाई फर्काउनका लागि जोखिम मोलेरै व्यवस्थापन पक्षले त्यस दिन सेवा संचालनमा ल्याएको थियो । त्यस दिन यता ३ दिन केबलकार सञ्चालनमा आए पनि २९ गते आएको अर्को ठूलो धक्काले हालसम्म सेवा सञ्चालनमा आउन सकिरहेको छैन । केबलकार सेवा बन्द हुँदा एक महिनाको अवधिमा ५ करोड घाटा सहनु परेको व्यवस्थापन पक्षले जनाएको छ । 

मनकामना दर्शन प्रालिका जिएम डीएन कायस्थले भने, ‘मुख्य सिजनमा धक्का लाग्दा हजारौं यात्रु सेवा लिनबाट वञ्चित भए, पाँच करोड बढीको घाटा सहन परेको छ ।’ 

अन्य समय प्राविधिक समस्याका कारण बन्द गरिएको केबलकार सेवा यसपटक भने फरक कारणले बन्द भएको छ । वैशाख १२ गतेको भूकम्पले भौतिक संरचनामा कुनै असर नगरे पनि केबलकार सेवा हालसम्म सञ्चालनमा आउन सकेको छैन । सेवा सञ्चालनमा आउन नसक्नुको कारणमा केबलकार पक्ष नभएरमनकामना मन्दिर निर्माण पक्ष जिम्मेवार देखिन्छ । 

केबलकार सञ्चालन अनिश्चित बनेको छ । केबलकार सेवा एक महिना बढी समय बन्द भएको यो नै पहिलो भएको उनी बताउँछन् । १२ गतेको भूकम्पले प्रभावित बनी २७, २८ र २९ गते तीन दिन पुनः सञ्चालनमा आए पनि २९ गतेको भूकम्पपछि हाल मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार सेवा बन्द गरिएको छ । 

मनकामना मन्दिरको पुनर्निर्माणको काम भइरहेकाले सेवा बन्द रहेको सञ्चालकले बताएका छन् । केबलकार सेवा व्यवस्थापन जिम्मा लिएका जिएम डीएन कायस्थका अनुसार यो समय मनकामना जानेहरुको मुख्य सिजन हो । वर्षको अन्य समयको तुलनामा वैशाख र जेठ महिनामा बढी भक्तजनहरु केबलकारमार्फत मनकामना जाने गरेको उनले बताए ।

‘हामी सञ्चालनका लागि तयारी अवस्थामा छौं, कायस्थले भने, ‘मनकामना मन्दिरमा पूजाआजा नचलेसम्म कसरी चलाउने ।’ भक्तजनहरुले दैनिक फोन गरेर कहिलेबाट केबलकार सञ्चालनमा आउँछ भनी जिज्ञासा राख्ने गरेको तर आफूले मनकामना मन्दिरमा पूजाआजा चलेपछि सेवा पुनः सञ्चालनमा आउने जवाफ दिने गरेको बताए ।

‘वैशाख १२ गते पनि ५ हजार भक्तजन केबलकार सेवा लिइरहेका थिए, उनले भने । कुल ३४ बाक्सा रहेकोमा ३ वटा सामान बोक्न प्रयोग गरिन्छ । हरेक तीन महिनामा केबलकारको मर्मतसम्भार गरिने उनले बताए । वर्षमा १० लाख व्यक्तिले केबलकार चढ्ने गरेको तथ्यांक कार्यालयसँग छ ।