मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनकामना मन्दिरभित्र पूजाआजा रोकिएपछि गेटमै पूजा

मनकामना मन्दिरभित्र पूजाआजा रोकिएपछि गेटमै पूजा


चितवन । केही वर्षअघि नै भौगोलिक कारणले ६ इन्च दक्षिण पश्चिम ढल्किएको मनकामना मन्दिर हालसालै गएको भूकम्प र पराकम्पनले थप ६ इन्च ढल्किएको छ । गोरखाकै बारपाक केन्द्रबिन्दु भएर भूकम्प जाँदा पनि मन्दिरमा कुनै अप्रिय क्षति हुन पाएन । भूकम्पले मनकामना मन्दिरलाई सामान्य असर गर्नु तर उपत्यकामा रहेका यस्तै खाले मन्दिरहरुमा क्षति पुग्नुले दैवी शक्तिको रुपमा विश्लेषण गर्न थालिएको छ । 
 
मनले चाहेको पूरा गर्ने देवीको रुपमा मनकामना मन्दिरलाई लिइन्छ । त्यसैले पनि यस मन्दिरमा पूजा गर्ने भक्तजनहरुको भीड देशका अन्य मन्दिरभन्दा कम हुन्न । हाल यस मन्दिर थप समस्यामा परेपछि स्थानीय मन्दिर व्यवस्थापन समितिले पूजाआजामा रोक नै लगाएको छ । मन्दिरभित्र जान पूजारी पनि डराइरहेको मनकामना मन्दिर जीर्णोदार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठ बताउँछन् । 
 
मन्दिर क्षेत्रमा पुग्नेहरु बाहिर सामान्य पूजाआजा गरेर फर्कने गरेको उनले बताए । भाकलका कामहरु रोकिएका छन् । सामान्य पूजा भने भक्तजनहरुले मन्दिर बाहिर नै पूजा गरी फर्कने गरेका छन् । त्यस्तै कतिपय भक्तजन भने मनकामनाको सम्झनामा केबलकारस्थित मूल गेटमा पूजा गरी फर्कने गरेको उनले बताए । 
मन्दिरभित्र पूजाआजा रोकिएपछि आत्मशान्तिका लागि केही भक्तजनहरुले मनकामनाको नाम लिएर मूलगेटमै पूजा गरी फर्कने गरेका छन् । ‘साँचो अर्थमा भगवानको बास मनमा हुन्छ, एक भक्तजनले भने,‘भगवानको नाम लिएमात्रै पनि पुग्छ, उनको घरसम्म सामान्य पूजाआजाका लागि धाइरहनु पर्दैन ।’
जीर्णोदार समितिका अध्यक्ष श्रेष्ठले हाल मन्दिर पुनर्निमाणअन्तर्गत खट बाँध्ने काम भइरहेको जानकारी दिए । ‘हामी मन्दिर पुनर्निमाणको तयारीमा थियौं, उनले भने,‘भूकम्प गएपछि हामी झनै छिटो निर्माण सक्नुपर्ने दवाबमा छौं ।’ 
मन्दिर पुनर्निमाणका लागि चार करोड बजेट रहेको उनले बताए । दुई वर्षभित्रमा मनकामना मन्दिरलाई नयाँ संरचनामा देख्न सकिने उनले बताए । पूजारीले मानेको खण्डमा छिट्टै नै विशेष पूजाहरु पनि गरिने उनले जनाए । 
भूकम्पको समयमा त्यस मन्दिर परिसरमा तीन हजार भक्तजन रहेको तर कोही पनि हताहत नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 
‘मन्दिरको संरचना कम भएको भए ढलेर धेरै जनधनको क्षति हुने निश्चित थियो, श्रेष्ठले भने,‘धन्न मनकामनाको शक्तिले केही अप्रिय घटना हुन पाएन ।’ मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले केबलकार सञ्चालनको अवस्थामा भूकम्प गए पनि कूनै घटना नभएको बताए । उनीहरुका अनुसार त्यस दिन पाँच हजार भक्तजन मनकामना र केबलकार आसपासमा रहेका थिए । 
हाल मन्दिरको संरचनामा केही परिवर्तन गर्न ढोकाको संख्या चार वटा बनाउने योजना रहे पनि पूरातात्विक विभागबाट स्वीकृत नभएको श्रेष्ठको भनाइ छ ।