टेक्सस

अमेरिकाको ड्यालसबाट नेपाललाई सहयोग : अवान्त फाउन्डेसनले दियो १५ लाख

अमेरिकाको ड्यालसबाट नेपाललाई सहयोग : अवान्त फाउन्डेसनले दियो १५ लाख


ड्यालस, अमेरिका। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि अमेरिकाको ड्यालसस्थित अवान्त फाउन्डेसनले १५ लाख रुपैयाँ सहयोग गरेको छ।

फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। सहयोग रकम जम्मा गरेको जानकारी दिँदै फाउन्डेसनका संस्थापकद्वय तथा प्रमुख कार्यकारी अधिकृत प्रेम शाही र फ्रिक्समोन माइकलले टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई भौंचर हस्तान्तरण गरेका हुन्।

Advertisement

सहयोग रकम बुझ्दै महावाणिज्यदूत अधिकारीले विपत्तिको समयमा नेपाल सरकार र बाढी प्रभावित नागरिकका लागि सहयोग गरेकोमा अवान्त फाउन्डेसनप्रति धन्यवाद व्यक्त गरे।

फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रेम शाहीले हिमालय खबरसँगको कुराकानीमा विपद्को समयमा मातृभूमिप्रतिको जिम्मेवारी सम्झेर सहयोग गरिएको बताए।

‘यतिबेला मातृभूमि नेपाललाई सबैको सहयोगको खाँचो छ। बाढी प्रभावित समुदायसम्म राहत पुगोस् भन्ने उद्देश्यले हाम्रो तर्फबाट सानो सहयोग गरेका छौँ,’ शाहीले भने।

फाउन्डेसनले बाढीका कारण आफन्त गुमाएका तथा घर र जीविकोपार्जनका साधन गुमाएका परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाललाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छ।