बोस्टन

“बोस्टन सप्ताह ज्ञान महायज्ञ -२०२६”को मुख्य तयारी पूरा, सहभागिताका लागि प्याब्फोनको चुले निम्तो

“बोस्टन सप्ताह ज्ञान महायज्ञ -२०२६”को मुख्य तयारी पूरा, सहभागिताका लागि प्याब्फोनको चुले निम्तो


अमेरिका, बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा हुनगइरहेको श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”को मुख्य तयारी पूरा भएको छ। महायज्ञ आयोजक संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले आवश्यक मुख्य तयारी पूरा भएको जनाएको छ।

धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको जगेर्ना गर्ने तथा पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको छ। उक्त महायज्ञ यही आउदो अगस्ट १६ देखि अगस्ट २३, २०२६ सम्म ब्रेनट्री सिटीको ५९४ वासिङ्टन स्ट्रिट स्थित संस्थाको आफ्नै सामुदायिक भवनमा आयोजना गरिदैछ।

Advertisement

प्याब्फोनको कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले महायज्ञका आवश्यक मुख्य तयारी पूरा भएको जनाएका छन्। महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले आ-आफ्नो जिम्मेवारी अनुसार तयारीका मुख्य कार्यहरु पूरा गरिसकेको उनले जानकारी दिए। अध्यक्ष घिमिरेले भने, “विभिन्न उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसार मुख्य तयारीको कामहरु पूरा गरिसकेका छन्। समग्रमा मुख्य तयारी सकियो। सहायक कामहरु भने निरन्तर चलिरहने छन्।”

संस्थाले महायज्ञका लागि पूजा व्यवस्थापन उपसमिति, आवास तथा भोजन उपसमिति, यातायात तथा पार्किङ व्यवस्थापन उपसमिति, सञ्चार व्यवस्थापन उपसमिति, प्रशासन उपसमिति, भजन कीर्तन उपसमिति, अतिथि सत्कार उपसमिति, स्टेज तथा सजावट उपसमिति, कलश यात्रा उपसमिति, महाप्रसाद व्यवस्थापन उपसमिति, गुरु व्यवस्थापन उपसमिति, बालबालिका व्यवस्थापन उपसमिति, ध्वनी व्यवस्थापन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, सरसफाइ उपसमिति,सहयोग तथा सहजिकरण उपसमिति, महिला परिचालन उपसमिति, समन्वय समितिलगायत दर्जन बढी उपसमितिहरु गठन गरेर कार्यविभाजन गरेको थियो।

अध्यक्ष घिमिरेले तयारीका दौरानमा समुदायको साथ, सहयोग र सक्रिय सहभागिता प्राप्त भएका कारण आवश्यक प्रमुख तयारी समयमै पूरा गर्न सकिएको बताए। उनले यस्तै साथ, सहयोग र सक्रिय सहभागिता महायज्ञको दौरानमा पनि निरन्तर प्राप्त हुने र महायज्ञ ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरे। अध्यक्ष घिमिरेले यस साझा अभियानमा सक्दो तन, मन र धन लगाएर जोडिन सबै न्यू इङ्गल्याण्डबासी प्रवासी नेपालीहरुलाई अनुरोध गर्दै सक्रिय सहभागिताका लागि चुले निम्तो गरेका छन्।

उक्त महायज्ञका प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल गत आइतबार बोस्टन उत्रिसकेका छन्। उनले पनि कथा वाचनको भूमिकाका लागि आफू र आफनो टोली तयार रहेको र न्यू इङ्गल्याण्डबासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्दै कथा वाचन गर्न आफू आतुर रहेको बताएका छन्।

पण्डित पोखरेलले श्रीमद्भागवत ज्ञान लिने, आपसमा जोडिने, नेपाली कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण, सम्वर्धन, प्रवर्द्धन गर्ने, पुस्तान्तरण गर्ने, दाताहरुको दान रकमबाट मन्दिरलाई ऋणमुक्त गराउने महायज्ञको प्रमुख अभियान रहेको बताए। महायज्ञको सात दिन न्यू इङ्गल्याण्डबासी प्रवासी नेपाली समुदायका लागि पूर्वीय दर्शन(वेद-बुद्ध दर्शन) बुझ्न पाउने ठूलो अवसर भएको जिकिर गर्दै उनले महायज्ञमा नेपाली समुदायको उल्लेखनीय सहभागिता, साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए। पण्डित पोखरेलले भक्तजनहरुलाई धार्मिक तथा पूर्वीय दर्शनको ज्ञान स्वादन गराउन आफूहरु तयार रहेको बताए।

पण्डित पोखरेलले सन् २०१७को अगस्ट ६ देखि १२सम्म (सात दिन)शिवालय मन्दिर परिसरमा प्याब्फोनद्वारा आयोजित पहिलो श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव “बोस्टन सप्ताह-२०१७” मा पनि प्रमुख कथा वाचकको भूमिका निर्वाह गरेका थिए।

महायज्ञ मूल समारोह समितिले तय गरेको कार्यतालिका अनुसार महायज्ञ अगष्ट १६,२०२६ आइतबारदेखि अगष्ट २३ आइतबारसम्म रहेको छ। मन्दिरका पूजारी तथा महायज्ञका आचार्य पण्डित गोकुलप्रसाद कँडेलले जानकारी दिए अनुसार महायज्ञको पहिलो दिन अगष्ट १६ आइतबार बिहान ८ बजे पूर्वाङ्ग गरिने र अपराह्न २ बजे बृहत् कलश यात्रा गरिने भएको छ।

उक्त कलश यात्राका क्रममा नेपाल र नेपाली पहिचान झल्कीने गरी मौलिक झाँकीसमेत प्रदर्शन गर्ने आयोजकले तयारी गरेको छ। उक्त कलश यात्रा ब्रेनट्रीको टाउनहलदेखि मन्दिर परिसरसम्म हुनेछ। कलशयात्रामा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरूको संघ संस्थाहरुले पनि झाँकीसहित सक्रिय सहभागिता जनाउने तयारी गरिरहेका छन्। कलश यात्रा पश्चात् प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेलद्वारा श्रीमद्भागवत श्रवण फलसम्बन्धि प्रवचन हुनेछ।

त्यसैगरी, अगष्ट १७देखि २३ सम्म हरेक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म पूजा तत्पश्चात १ बजेसम्म पाठ पारायण हुनेछ भने, अपरान्ह २ बजेदेखि साँझ ७ बजेसम्म श्रीमद्भागवत कथा वाचन हुनेछ। पण्डित कंडेलका अनुसार, कथा वाचनका क्रममा प्रथाको प्रसङ्ग अनुसार झाँकीसहित भजन कीर्तन हुनेछ। अगष्ट २२ शनिबार आइतबार साँझ विशेष आरति गरिनेछ।

अगष्ट २३ आइतबार महायज्ञको धार्मिक विधिपूर्वक समापन गरिने कार्यतालिका रहेको छ। यस दिन श्रीमद्भागवत कथा वाचनसहित तिलार्पण, हवन, तर्पण, मार्जन, अविशेक, पूर्णाहुति, अभिषक आदि धार्मिक विधिहरु सम्पन्न गर्ने कार्यतालिका रहेको छ। मन्दिरका पूजारी तथा महायज्ञका आचार्य पण्डित कंडेलले महायज्ञमा हुने पूजापाठ, हवन, प्रवचन, वाचन आदिसंग सम्बन्धित आवश्यक तयारी पूरा भइसकेको बताए। न्यू इङ्गल्याण्डबासी प्रवासीहरुमा महायज्ञले निकै उत्साह जगाइरहेको बताउदै पण्डित कंडेल सबैलाई धार्मिक अभियानमा जोडिन अनुरोध गरेका छन्।

पचास हजार डलर खर्चको अनुमान गरिएको यस महायज्ञमा दाताहरुले गरेको दानबाट १५ लाख डलर रकम सङ्कलन हुने अपेक्षा गरिएको छ।