अमेरिका, बोस्टन। अगष्ट २, २०२६ आइतबारका दिन अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा प्रवासी नेपालीहरूको निकै चहलपहल थियो। यसको मुख्य कारण थियो ‘नेपाल डे-२०२६ ‘ कार्यक्रम। यस कार्यक्रमको अगुवाइ गरेको थियो ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरूको संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटि'(जिबिएनसि)ले। सन् २०२३ देखि हरेक वर्ष जिबिएनसि र एभरेट सिटीले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको यस ‘नेपाल डे’ले यस वर्ष पनि निरन्तरता पाएको हो।

कार्यक्रम एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा आयोजना गरिएको थियो। कार्यक्रम स्थलमा फरफराएका नेपालको झण्डाहरु, नेपाली भेषभूषामा सजिएका सहभागीहरु, उनिहरुले बोलेका नेपाली भाषा, बोलीचाली, व्यवहार, प्रस्तुत भएका नेपाली गीत सङ्गीतका कोसेलीहरु, नेपाली परिकार तथा सरसामानका स्टलहरु आदिले कार्यक्रम स्थल नेपालमय भएको थियो।

नेपाली हुनुमा गर्व गर्दै नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्नु, नेपाल र नेपालीलाई चिनाउनु, सामुदायिक एकतालाई थप मजबुत बनाउनु र सहभागीहरुलाई मनोरञ्जन दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। अपरान्ह १२ बजेदेखि सुरु गरिएको कार्यक्रम साँझ अबेरसम्म सञ्चालन भएको थियो।
कार्यक्रम स्थलको उत्सवमय माहोलले ‘जहाँ नेपाली तन, त्यहाँ नेपाली मन, गर्बिलो शान, मौलिक पहिचान’ भन्ने कुरालाई पुष्टि गरिदिएको थियो। नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रम, नेपाली महावाणिज्यदूत ददिराम भण्डारीको प्रमुख आतिथ्यता र एभरेट सिटिका मेयर रोबर्ट भ्यान क्याम्पेनको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।


कार्यक्रमको दौरानमा प्रमुख अतिथि भण्डारीले कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै कार्यक्रमले नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन हुनुका साथै नेपाल अमेरिकाबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउने विश्वास व्यक्त गरेका थिए। न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका प्रवासी नेपालीहरुलाई नेपाल सरकारको तर्फबाट गुणस्तरीय सेवाहरु प्रदान गर्न आफू र आफ्नो कार्यालय सधै तत्पर रहेको बताउँदै उनले नेपालको उन्नति र प्रगतिमा यस क्षेत्रको महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रमका विशेष अतिथि एभरेट सिटिका मेयर क्याम्पेनले एभरेट सिटिमा नेपाली समुदायको उल्लेखनीय बसोबास रहेकोमा गर्व प्रकट गरे। सम्बोधनका क्रममा उनले सिटिको लागि नेपाली समुदायले पुर्याएको महत्त्वपूर्ण योगदानहरुको सराहना गर्दै नेपाल डेको शुभकामना व्यक्त गरे।
कार्यक्रमको दौरानमा प्रमुख अतिथि तथा विशेष अतिथिलाई जिबिएनसिको तर्फबाट सम्मान प्रकट गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा संस्थाका महासचिव अजय ढकालले स्वागत मनतव्य व्यक्त गर्दै संस्थाको संक्षिप्त परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए।

डिजे मुकुन्द पोखरेलले प्राविधिक जिम्मेवारी सम्हालेको कार्यक्रमको मुख्य आकर्षण विविध साङ्गीतिक कार्यक्रम रहेको थियो। नेपाली क्लास बोस्टनका विद्यार्थीहरुले नेपाल र अमेरिकाको राष्ट्रिय गाएपछि विविध साङ्गीतिक कार्यक्रमको पर्दा खोलिएको थियो।


बृहत् साँगीतिक कार्यक्रमका मूख्य आकर्षण नेपालका चर्चित गायक प्रकाश सपूत रहेका थिए। उनले आफ्ना चर्चित गीतहरु गाएर सहभागीहरूलाई भरपूर मनोरञ्जन दिलाउदै कार्यक्रम स्थललाई नेपालीमय बनाउन अहम् भूमिका खेलेका थिए। नेपालको राष्ट्रिय झण्डा चन्द्र र सूर्य अंकित दौरामा सजिएर मञ्चमा उत्रिएका सपूतले भजन लयमा रहेको हलहलहल मन हलहलहल..गीत गाएर आफ्नो साङ्गीतिक प्रस्तुति प्रारम्भ गरेका थिए। उनले आफ्ना चर्चित गीतहरु तिम्रो मायाले मलाई पीर दियो, यो देश मेरो पनि हैन र, फूल माया…, कुरा बुझ्न पर्छ.., तिमी मलाई प्रलय नै मन पर्न, सालै जो, माकुर माकुर , गल्बन्दी लगायत गीत गाएका थिए। गीत गाउने क्रममा उनले नेपाल र अमेरिकालाई जोड्दै नेपालमा रहेका नेपाली र प्रवासमा रहेका नेपालीहरुकाबीचको आत्मीय सम्बन्धलाई जीवन्त राख्न अपिल गर्दै आफ्ना सन्देशमूलक भनाइ पनि राखेका थिए।


यसैगरी, स्थानीय कलाकारहरुले पनि साङ्गीतिक मञ्च साझा गर्दै आ-आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए। उदाउदै गरेका बाल कलाकारहरुदेखि चर्चाको शिखरमा पुगिसकेका वरिष्ठ कलाकारहरुको विविध स्वादका बेजोड प्रस्तुतिहरुले सृजित साङ्गीतिक माहोलमा सहभागीहरुले गर्बिलो अनुभूतिसहित कलाकारहरुलाई साथ दिदै भरपूर मनोरञ्जन लिएका थिए।



कार्यक्रमको अर्को आकर्षणको पाटो थियो, नेपाली स्वादका परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ७ वटा, नेपाली पहिचान बोकेका सामानहरुका ४ वटा, जानकारीमूलक ६ र संस्थागत ६ गरी कुल २३ वटा स्टलहरु राखिएको थियो। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिएको थियो भने, कार्यक्रममा १३ वटा प्रायोजकहरु रहेका थिए।

जिबिएनसिका उपाध्यक्ष सोनाम शेर्पा, अश्मि पोखरेल, सजना अधिकारी र वर्षा बुढाथोकीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको अन्तमा आयोजक संस्था जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। उनले कार्यक्रम हर्षोल्लासका साथ सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। उनले नेपाल डेमा भएको नेपाली समुदायको उत्साहजनक बृहत सहभागिताले नेपाली पन, पहिचान र नेपालीत्वलाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्याउनु साथै सामुदायिक एकतालाई थप मजबुत बनाएको दाबी गरे। प्रतिक्रिया दिने क्रममा अध्यक्ष भट्टराईले कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई आयोजकको तर्फबाट धन्यवाद दिए।
कार्यक्रमको दौरानमा हालसालै नेपालको तपाईंमा धर्मको नाममा भड्किएको आन्दोलनको क्रममा ज्यान गुमाएका र विश्व कीर्तिमानी निर्मल पूर्जासहित हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।













प्रतिक्रिया