मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पाँचौं प्रयासबाट जनअनुमोदित हुनेमा कांग्रेस नेतृ उपाध्याय विश्वस्त

पाँचौं प्रयासबाट जनअनुमोदित हुनेमा कांग्रेस नेतृ उपाध्याय विश्वस्त


हेटौंडा, मकवानपुर। नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय(डिना) आसन्न निर्वाचनबाट जन अनुमोदित हुनेमा विश्वस्त रहेकी छिन्। उनी यही फागुन २१, २०८२ मा हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट मकवापुर क्षेत्र नंबर १ का लागि उमेदवार बनी चुनावी मैदानमा होमिरहेकी छिन्।

जनताबाट नै प्रत्यक्ष रुपमा अनुमोदित भएर काम गर्न २०४८ सालको आम निर्वाचनदेखि नै चुनावी प्रतिस्पर्धामा होमिएकी उनको चुनावी यात्राले यस पटक पनि निरन्तरता पाएको छ।चार पटक हार बेहोरेर पनि हरेस नखाएकी उनी, यस पटक भने जनताबाट अनुमोदित भएरै छाड्नेमा पूर्ण विश्वस्त रहेकी छिन्। यस अघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट र २०७९ मा क्षेत्र नंबर १ बाट पराजित भएकी थिइन्।

Advertisement

उपाध्यायको राजनितिक जग पारिवार थियो। २०२१ सालमा चितवनमा जन्मिएकी उनको हजुरबुवा उदयनाथ अधिकारी नेपाली कांग्रेसमा आवद्ध थिए।उनी नेपाली कांग्रेसको चितवन जिल्ला सभापति पनि भएका थिए। जन्मैदेखि नै राजनितिक चेतका साथ हुर्किएकी उपाध्याय विद्यार्थी कालदेखि नै राजनितिमा होमिएकी थिइन्। उनी २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति भइन्। २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुरको सभापति भएर सक्रिय रहेकी थिइन् भने, २०५९ सालमा उनी कांग्रेस विभाजित भएपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य बनिन्।

विगतमा आफूले गरेका राजनितिक तथा सामाजिक कामहरु, पार्टी भित्रको आन्तरिक एकता तथा सक्रियता, आफ्नो इमान्दारिता, योग्यता, क्षमता, अनुभव, योगदान, भावी सम्भावना, आफू र आफ्नो पार्टीप्रति मतदाताहरुले दर्शाएको आशा तथा भरोसा आदि नै आफूले निर्वाचन जित्ने मूख्य आधारहरु भएको उनको ठम्याइ छ। नेपाली कांग्रेसकी पूर्व सहमहामन्त्री उपाध्यायले देशमा जेनजी आन्दोलनपछि उब्जिएको विषम परिस्थितिलाई सम्हाल्न, संविधान बचाउन र देशलाई दुर्घटनाबाट बचाउदै देश बनाउनका लागि ठूलो जोखिम उठाएर कांग्रेस चुनावमा होमिएको बताइन्।

उनले भनिन्,”संविधान बचाउन, देशको विषम परिस्थितिलाई सम्हाल्नका लागि ठूलो जोखिम लिएर कांग्रेस चुनावमा होमिएको हो।” कांग्रेस सधै लोकतन्त्रको पक्षधर भएको र लोकतन्त्रको मेरुदण्ड सार्वभौम जनता नै भएकाले जन अनुमोदित हुन आफू र आफ्नो पार्टी निर्वाचनमा होमिएको स्पष्ट पारिन्। जनताका माग, इच्छा, चाहना र भावनालाई आत्मसात गर्दै सोही अनुरुप कांग्रेस बदलिएर जनता माझमा पुगेको बताउदै उपाध्यायले भनिन्,”बदलिएको कांग्रेसले नै मुलुक बचाउछ र बनाउछ भन्ने मतदाताहरुमा पूर्ण विश्वास छ। त्यही विश्वासलाई सार्थक बनाउन आफू र आफ्नो पार्टी प्रतिबद्ध र सक्रिय छ।”

जनताको मतका आधारमा पटक पटक निर्वाचन हारे तापनि, जनताको मन जित्न आफू सफल रहेको जिकिर गर्दै उपाध्यायले यस पटक भने जनमतका आधारमा पनि आफूले जित हासिल गर्ने दावी गरिन्। उनले थपिन्,”समानुपातिक र राष्ट्रिय सभामा आफ्ना लागि सिट सुरक्षित हुँदाहुदै पनि जनताबाटै प्रत्यक्ष रुपमा अनुमोदित भएर काम गर्ने इच्छाले फेरी पनि चुनावमा होमिएको हुँ। त्यसैले, यस पटक मतदाताले मलाई आफ्नो अमूल्य मत दिएर विजय गराइ न्याय दिएरै छाड्ने छन् भन्नेमा म ढुक्क छु।”

यस निर्वाचन क्षेत्रमा मकवानपुरको हेटौंडा उपमहागनगरपालिकाको १५ वडा, बकैया, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ४ वडा गरी कूल ४० वडा रहेका छन्। यस १ नंबर निर्वाचन क्षेत्रमा कूल एक लाख ५८ हजार ४३५ जना मतदाता रहेका छन्। जस मध्य, ७८ हजार ८१० महिला र ७९ हजार ६२१ पुरुष मतदाता रहेका छन्। यस निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थल र १७८ वटा मतदान केन्द्रहरु रहेका छन्।

आसन्न संसदीय निर्वाचनमा यस निर्वाचन क्षेत्र नं १ मा जम्मा २३ जना उमेदवार चुनावी मैदानमा उत्रिएका छन्। जसमा, १३ जना दलीय र १० जना स्वतन्त्र उमेदवारहरु रहेका छन्।

पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका उमेदवारहरुमा नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ एमालेका रामेश्वर राना, रास्वपाका प्रकाश गौतम, राप्रपाका दिपकबहादुर सिंह, नेकपाका विजय गौतम, नेकपा माओवादीका महेश नेपाली, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा, प्रलोपाका रमेशप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीका विद्या श्रेष्ठ महर्जन जनता समाजवादी पार्टीका दीपक सिन्तान, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रञ्जना सुवाल मगजु र जसपा नेपालका रुपक लामा उम्मेदवार छन्।

यसैगरी, स्वतन्त्र उमेदवारहरुमा अमर दंगाल, अमिक परियार, टीका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेश कुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञानसागर लामा रहेका छन् ।

मतदाताहरुले कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेका रामेश्वर राना, रास्वपाका प्रकाश गौतम, राप्रपाका दीपकबहादुर सिंह र नेकपाका विजय गौतमलाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिरहेका छन्। चुनावको मिति नजकिदै गर्दा उपाध्यायको पक्षमा माहोल बन्दै गइरहेको र जितका लागि पल्ला भारी हुदै गइरहेको विश्लेषकहरुको दावी छ। निर्वाचन अघिको दुइ दिनका गतिविधिहरु निर्णायक हुने जनाउदै उनीहरुले विजेता र उपविजेताको बीचमा ४ देखि ५ हजार हारहारीको मतान्तर हुने अनुमान गरेका छन्।

शेयर गर्नुहोस:

0
Shares