मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी परित्याग गरी कांग्रेस भित्रिए

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी परित्याग गरी कांग्रेस भित्रिए

कांग्रेसमा उत्साह, रास्वपालाई धक्का


हेटौंडा, मकवानुर। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले रास्वपा परित्याग गरेका छन्। रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका पराजुलीले फागुन ११ गते सोमवार पार्टीले हेटौंडामा आमसभा आयोजना गरेकै दिन रास्वपा परित्याग गरेको औपचारिक घोषणा गरेका हुन्।

रास्वपाका पछिल्ला गतिविधिहरु र नेतृत्वहरुको व्यवहारहरु पार्टीको मूल उद्देश्य, मूल्य, मान्यता र आदर्शको खिलाफमा गएकाले पार्टी परित्याग गर्न आफू बाध्य भएको उनको जिकिर छ। पराजुली २०८१ साल मङ्सिर ६ गते भएको रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रुपमा पार्टीको सभापतिमा पुनः चयन भएका थिए।

Advertisement

आफू इमानदारी, निष्ठा र जनसेवाको भावना लिएर रास्वपामा आबद्ध भइ सक्रिय हुदैगर्दा पार्टी भित्र सिमित व्यक्तिहरुको प्रभाव, चाकडीवाद, आलोचनालाई अस्विकार गर्ने संस्कार मौलाउनुका साथै पार्टी भित्रको आन्तरिक लोकतन्त्र कम्जोर हुदै गएको निष्कर्षमा आफू पुगेको र निराश भएर पार्टी परित्याग गर्न वाध्य भएको पराजुलीले जनाएका छन्।

पराजुली रास्वपा परित्याग गरेसँगै नेपाली कांग्रेस पार्टीमा भित्रिएका छन्। चुनावी अभियानका क्रममा सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन ११ गते सोमवार बिहान उनलाई टीका र खादा लगाएर स्वागत गर्दै औपचारिक रुपमा कांग्रेसमा भित्र्याएका हुन्।

कांग्रेसमा भित्रिए लगतै नेपाली कांग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नंबर २ का उमेदवार बुद्ध लामासहित कांग्रेसीहरुसंगै चुनावी प्रचारप्रसारमा सहभागी हुदै भरत पराजुली।

यस सम्बन्धनमा पराजुलीले गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस अघि बढेकाले आफू आशा र भरोसा लिएर आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा फर्किएको बताए। उनले देशको अभिभावक, देशको समुन्नति र उज्वल भविश्यका लागि नेपाली कांग्रेस पार्टी नै उत्कृष्ट पार्टी भएको ठोकुवा गरे। गगन थापाको नेतृत्वमा कांग्रेसले नै देश बनाउछ भन्नेमा विश्वस्त भएर आफू पुरानै घर फर्किएको उनले बताए।

यसै प्रसङ्गमा उनले रास्वपालाई हाटबजार र पानीको फोकाको संज्ञा दिदै जनता माझ क्षणिक भ्रामक र उत्तेजित कुराहरु गरेर रास्वपाले जनतालाई भ्रमित पारिरहेको आरोप लगाए।

पराजुली कांग्रेस भित्रिएसंगै कांग्रेस पार्टी भित्रि नयाँ आशा, भरोसा र उर्जाको उत्साह छाएको छ। उनको आगमनले कांग्रेसलाई थप बलियो बनाउनुका साथै थप उचाइमा पुर्याउन अहम भूमिका खेल्ने कांग्रेसीहरुको ठम्याइछ।

नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति तथा मकवानुर क्षेत्र नंबर २ का उमेदवार बुद्ध लामाले पराजुलीले कांग्रेस पार्टीमा रहदा पुर्याएको योगदानको स्मरण गर्दै कांग्रेसले उनको अभाव खड्किएको महसुस गरिरहेको बताए। पराजुली कांग्रेसबाट बाहिरिदा पार्टीले राजनितिक क्षति बेहोर्नु परेको र पुन: आगमनले पार्टीलाई उर्जा मिल्नुका साथै थप बलियो र उचाइमा पुर्याउन महत्वपूर्ण योग्दान पुग्ने आशा व्यक्त गरे।

कांग्रेस पार्टी भित्रिएसंगै पराजुली नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार अभियानमा जुटिसकेका छन्। सोमवार नै उनि पार्टी सभापति तथा २ नंबर क्षेत्रका उमेदवार बुद्ध लामासंगै चुनावी कार्यक्रममा सहभागी भएका थिए।

पराजुलीको यस कदमले मकवानपुरको निर्वाचन गतिविधिहरु र परिणाममा ठूलो प्रभाव पार्ने विश्लेषकहरुले अनुमान गरेका छन्।उनिहरुले यस विषयले मकवानपुरमा मात्र नभएर देशभर प्रभाव पार्ने र रास्वपालाई हानी र कांग्रेसलाई फाइदा पुग्ने अनुमान गरेका छन्। कांग्रेसीहरु भने पराजुलीको आगमनले कांग्रेस थप बलियो भएको र मकवानपुरको दुबै क्षेत्रमा कांग्रेसको जित सुनिश्चित भएको निष्कर्षमा पुगेका छन्।

चुनावको मुखैमा पराजुलीले रास्वपा त्याग्ने र कांग्रेस भित्रिने कदमले रास्वपा भित्र भने ठूलै हलचल मच्चिनुका साथै चुनावी अभियानको गतिमा धक्का लागेको छ, जसको असर सोमवार हेटौंडामा पार्टीले आयोजना गरेको आमसभामा प्रष्ट देखिएको थियो। यस घटनालाई लिएर रास्वपाका केही नेता तथा कार्यकर्ताहरुले दुखमनाउ गर्दै सामाजिक सञ्जालहरुमार्फत मिश्रित प्रतिक्रियाहरु दिइरहेका छन्।

विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसमा आबद्ध भएर राजनितिमा होमिएका पराजुली नेपाली कांग्रेस परित्याग गरी रास्वपामा आबद्ध भएका थिए। उनी २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर जिल्लाको क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवारी दिएका थिए। सामाजिक क्रियाकलापहरुमा पनि निकै सक्रिय रहदै आएका उनले उक्त निर्वाचनमा १२ हजार ५९ मत पाउदै तेश्रो स्थानमा रहन सफल भएका थिए। यस पटक पनि उनि उमेदवारको आकाङ्क्षी थिए। तर, उनलाई रास्वपाले उमेदवार नबनाएर बालेन्द्र(बालेन) साह निकट मानिने प्रशान्त उप्रेतीलाई उमेदवार बनाएको छ।

औपचारिक रुपमा रास्वपा परित्याग गरेको जानकारी दिदै पराजुलीद्वारा जारी वक्तव्य …

सबैमा नमस्कार !

म विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा समर्पित रहँदै आएको थिएँ। त्यसपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरेँ।

जहाँ रहे पनि म सधैं भुईँमान्छेको सेवकका रूपमा जनताको सेवामा समर्पित रहन प्रयासरत थिएँ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ जस्तो बिकट क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गर्नु मेरो लागि जनविश्वासको प्रमाण थियो।
तर समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो। सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो। मैले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ। कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग म सहमत हुन सकिनँ।

यस निर्णयलाई कसैले अन्यथा अर्थ लगाउन सक्लान्, तर मेरो लागि मूल कुरा पार्टी स्थापना गर्दा अघि सारिएको उद्देश्य र व्यवहारबीचको अन्तर हो। जब आदर्शभन्दा फरक बाटो समातिएको महसुस भयो, तब आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको छु।
रास्वपामा मलाई माया, साथ र विश्वास गर्ने सम्पूर्ण साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। म पार्टीमा नरहँदा केही सीमित व्यक्तिहरूलाई सुखानुभूति हुन सक्ला, तर भविष्यमा कसैले पनि मेरो जस्तो नियति भोग्न नपरोस् भन्ने कामना गर्दछु।

रास्वपा पार्टीको जिल्ला सभापति पदमा रहँदा विभिन्न कोणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरू, शुभेच्छुकहरू तथा कार्यकर्ताहरूमा हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरूको साथ, समर्थन र विश्वास नै मेरो राजनीतिक यात्राको बलियो आधार रहनेछ।
हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको छ। साथै, यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसक्ने अवस्था देखिएकाले स्थापना कालदेखि आबद्ध रहेको पार्टीबाट आजकै मितिदेखि अलग रहने निर्णय गरेको सम्वन्धित सबैमा जानकारी गराउँदछु।

आगामी दिनहरूमा पनि म सदाझैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद !

शेयर गर्नुहोस:

54
Shares